सिन्धुलीमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु

सिन्धुली – सिन्धुलीमा कोभिड संक्रमित थप चार जनाको मृत्यु भएको छ । करिब २४ घण्टा भित्र चार जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा तीनजना र एक जनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । 

जनस्वास्थ्य प्रमुख जितेन्द्र शाहका अनुसार कोभिड-१९ को संक्रमणपछि श्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएकी कमलामाई नगरपालिका -४ की ७८ वर्षीय  चेतकुमारी देवकोटा, सर्लाहीको लालबन्दी नगरपालिकाका ५७ वर्षीय सरोज बराल र कमलामाई नगरपालिका ७ कै ४९ वर्षीय एक पुरुषको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार मरिण गाउँपालिका -४ जुटपानीकी वर्ष ५२ की मैयामायाँ विकको उपचारका लागि अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो । स्वाब परीक्षणको क्रममा विकको मंगलबारनै कोरोना संक्रमण पुष्टि भएको थियो । 

यो सँगै सिन्धुलीमा कोभिड १९ दोस्रो भेरियन्टका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हालसम्म १ हजार एक सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । एक सय ८३ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १४:१०

प्रतिक्रिया दिनुहोस्