प्रतिगामी कदम बिरुद्ध सिन्धुलीका पाँच बिपक्षी दलको गठबन्धन

सिन्धुली – प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म अब हुने सबैखाले संघर्षका कार्यक्रममा एकभएर अघि बढ्ने एमालेको खनाल–नेपालसहित सिन्धुलीका विपक्षी गठबन्धनले बुधबार अपिल जारी गरेका छन् । 

राष्ट्र, जनता, संविधान, विधिको शासन र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म हुने संघर्षका सबै कार्यक्रममा एक भएर लड्ने गठबन्धनले जारी गरेको अपिलमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी चालेको प्रतिगामी कदमविरुद्ध हुने संघर्षमा साथ दिन जनतालाई विपक्षी गठबन्धनले विज्ञप्ती जारी गरेर आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको खनाल-नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले युवा, विद्यार्थी, किसान, मजदुर, कानुन व्यवसायी, उद्योगपति, व्यापारी, नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी, बुद्धिजीबी, कर्मचारी र सुरक्षाकर्मी लगायतलाई संघर्षमा उत्रन र साथ दिन आह्वान गरेका छन ।

बिज्ञप्ति मार्फत गठबन्धनले सिंगो पार्टीपंक्ति, भातृ तथा जनवर्गीय संगठन, मोर्चाहरुलाई सशक्त प्रतिरोध गर्न निर्देशन गरेका छन् ।

विसम् परिस्थिती सिर्जना गरेर जनतालाई प्रतिरोधमा निक्लन बाध्य बनाइ कोरोना थप फैलाउने नियत प्रधानमन्त्री ओलीको प्रष्ट देखिएको भन्दै गठबन्धनले कोरोना रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षामा सिंगो राष्ट्रलाई केन्द्रित गर्नुको सट्टा निर्वाचन घोषणाको नाटक गरेर राष्ट्रलाई नै लज्जित बनाएको विज्ञप्तीमा उल्लेख छ ।

कांग्रेसका सभापति उज्ज्वल बराल, माओवादीका अध्यक्ष लेखनाथ दाहाल राजन, एमाले खनाल–नेपाल पक्षका अध्यक्ष सूर्य पाख्रिन, जनता समाजवादीका अध्यक्ष सुरतबहादुर स्याङ्तान र राष्ट्रिय जनमोर्चाका सचिव हिरा श्रेष्ठले प्रधानमन्त्री ओलीको मनपरितन्त्रमा रबर स्ट्याम्प बनेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आलोचना गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार ११:४५

प्रतिक्रिया दिनुहोस्