रोग र भोकको साहारा बन्दै मानव रक्षार्थ अभियान


सिन्धुली –कोरोना महामारी (कोभिड–१९) को चपेटामा परेर एकातर्फ अकालमै जीवन गुमाउन बाध्य हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ भने अर्कोतर्फ बिरामीहरुले समेत उपचार नपाउने अवस्था सिर्जना भएको छ । यता दिनभरि ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने गरेका श्रमिक मजदुरहरु भोकले ज्यान गुमाउनु पर्ने अवस्थामा पुगिसकेका छन् । यहाँका अधिकांस जनता कृषिमा निर्भर छन् ।

कृषिमा मजदुरी गर्नेहरु काम नपाउने अवस्थामा पुगेका छन् । दिनमा काम नगरे साझ विहान छाक टार्न धौधौ पर्ने मजदुरको अवस्था गर्मिको समयमा शरिरमा कपडाको जोहो भन्दा पनि विहान बेलुका खानाको जोहोको चिन्तामा छन् । मानिसलाई सवैभन्दा ठुलो डर नै रोग र भोकको हुने गर्दछ । कोरोना महामारीले यो संगै शोक पनि थपिदिएको छ । रोगले निम्त्याएको शोकमा मुलुक डुबिरहेका बेला थपिदो निशेधाज्ञा र बढ्दो संक्रमणले भोकमरीको चिन्ता समेत थप गरिदिएको छ ।

हामि कल्पना गरौं न रोग र भोकको समस्या एकैपटक भयो भने के होला ? त्यो झन खतरनाक हुन्छ । यतिवेला विश्वका अधिकांस देशहरुमा रोग र भोक विरुद्धको लडाँइ छ । समाजवादोन्मुख व्यवस्थाको एउटा बुझिने अर्थ हो– निम्न वर्गलाई भोक नहोस् । कोरोना भाईरसले पारेको अर्थतन्त्रको असर सवैभन्दा वढी निम्न र मध्यमवर्गलाई पर्ने गर्दछ । विश्व अहिले एकैपटक कोरोना रोग र भोकको लडाईका विरुद्धमा लडिरहेको छ ।

विगतमा रोग र भोकका विरुद्ध लड्दै आएको नेपाल यसपटक महारोगको सामना गरिरहेको छ । विश्वलाई नै आक्रान्त पारिरहेको महामारिको असर सिन्धुलीमा पनि व्याप्त छ । हाल सिन्धुली जिल्लामा पछिल्लो तथ्याकंअनुसार काभिड १९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगिसकेको छ । हालसम्म १ हजार २ सय १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने १ सय ९० जनाले कोरोनालाई जितेका छन् ।

रोगसंगको लडाईमा अनवरत जुटिरहेको सिन्धुली जिल्ला अस्पताल, कोभिड अस्पताल, नेपाल रेडक्रस सोसाईटी, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, विभिन्न सरकारी तथा ग्रैहसरकारी संस्था, समाजसेवीको सहयोग त छदैछ यो संगै अहिले जिल्लामा रोग र भोकको लडाईमा एकैपटक लडिरहेको एक युवा अभियान पनि सक्रिय छ । जिल्लामा विभिन्न निकाय तथा सामाजिक संघसंस्थामा आवद्ध भएका युवाहरुको पहलमा कोरोना नियन्त्रण र भोकको भयानक अवस्थालाई न्युनिकरण गर्न मानव रक्षार्थ सहयोग अभियान संचालनमा छ ।

युवा नेतृत्व कमल पोखरेलको संयोजकत्वमा जिल्लाका युवाहरुले उक्त सामाजिक अभियान संचालन गरेका हुन । उक्त अभियानले कोभिड १९ को महामारीमा ज्यान गुमाएकाको उचित दाहसंस्कार, संक्रमितको उपचारमा सहयोग, नागरिकलाई संक्रमणबाट जोगिन विभिन्न स्वास्थ्य सामाग्री सहयोग, जिल्लामा फ्रण्टलाईनमा वसेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग, महामारीका कारण दैनिक ज्याला मजदुरी गरेर भोकको चपेटामा रहेका वर्गलाई खाद्यान्न सहयोग लगाएतका काम अभियानले गरिरहेको छ ।

विभिन्न व्यवसायमा आवद्ध युवाहरुले कमाएको केही रकम जम्मा गरेर विपत्तिमा परेका परिवार तथा कोरोना जस्ता महामारीमा अग्रभागमा रहेर काम गर्ने तथा महामारीबाट प्रभावित भएकालाई सहयोग गर्न अभियान चलाइएको अभियान्ताहरुले बताएका छन् । यो संकटको घडीमा पार्टी र विचारधारा भन्दा माथि उठेर सहयोग गर्नुपर्छ भन्ने भावना युवाहरुमा जागेकाले आफुहरु सहयोग गर्न जुटेको अभियानका संयोजक कमल पोखरेलले जानकारी दिए ।

उनका अनुसार कारागार कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, पत्रकारलाई स्वास्थ्य सामाग्री तथा कोभिड अस्पतालाई फ्रिज उपलब्ध गराएको छ ।
सहयोगी मनहरुले हामीलाई आर्थिक सहयोगका साथै स्वास्थ्य सामाग्रीहरु समेत सहयोग गर्दै आएका छन्, सोही अनुसार हामीले स्वास्थ्य सामाग्री र दैनिक ज्याला मजदुरी गरिरहेका तर महामारीका कारण घरमै रहेकालाई खाद्यान तथा तरकारी लगाएतका उपभोग्य सामान वितरण गरेका हौ उनले भने, हालसम्म हामीलाई कोरोना प्रभावित र अग्र भागमा रहेर काम गर्ने संघसंस्था तथा प्रतिनिधिहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्न भन्दै झन्डै एक लाख ८० हजार सहयोग जुटेको छ । उनले स्वस्फुर्त रुपले सहयोग गर्नेहरुबाट उक्त रकम संकलन भएको र आफुहरुले सोही रकमबाट स्वास्थ्य सामाग्री खरिद गरेको जनाए । व्यवसायी र सहयोग गर्न चाहनेहरुका लागि यो अभियान एउटा माध्यम हो, उनले भने, सोही अनुसार हामीले काम गर्दै आएका छौ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार ०७:२७

प्रतिक्रिया दिनुहोस्