सुनकोसीनदिले सिन्धुली ओखलढुंगा जोड्ने निर्माणाधिन पुल बगायो

सिन्धुली – सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका– २ नवलपुरघाट र ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु जोड्ने मोटरेबल पुल बिहीबार सुनकोसी नदीमा आएको बाढीले बगाएको हो ।
 
करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा.लि. सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल दुई सय १० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । 

बुधबार मात्रै ढलान गरेको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने वेलामा पुल निर्माणको काम पछिल्लो समय तीव्र बनाइएको थियो । 

वर्षामा बाढीको त्रास हुने भएकाले त्यसअगावै सक्ने गरी काम अघि बढाइएको भए पनि ढलान सकेको केही घन्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताए । उनका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तर्गतको केवल ब्रिज हो । 

उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो । केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउँछन् ।

‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिनसम्म केवल तान्नुपर्ने हुन्छ, तर ढलान सकेको केही घन्टामै बाढीले बगायो,’ माझीले भने, ‘गुणस्तरीय काम गर्दा गर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याब भत्कियो ।

निकै ठूलो क्षति भयो ।’ माझीका अनुसार करिब ६ करोडबराबरको क्षति भएको छ ।  निर्माणाधीन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुलीको फिक्कल गाउँपालिका– २ का वडाध्यक्ष शंकर भण्डारीले बताए ।

‘वर्षाको समयमा सुनकोसीको बाढी सधैँ यस्तै हो क्षति गर्छ । वर्षा लाग्दालाग्दै पनि निर्माण कम्पनीले नदीको मूल बहावमा काम गरिरहेको थियो । हेर्दाहेर्दै बगायो,’ भण्डारीले भने, ‘दिगो विकास यहाँको आवश्यकता हो ।

यही क्षतिलाई देखाएर काम रोक्न वा अन्य बहाना गर्न पाइँदैन समयमै काम सक्न हामी ताकेता गर्छौँ ।’ ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफूहरूसँग कुनै समन्वय नगरेको र कोभिड नियन्त्रणमा आफूहरू रहेकाले यस विषयमा जानकारी नरहेको बताए । 

सडक डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपर्ने बताए । ढलानमा दिइएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुन सक्ने उनको भनाइ छ ।

‘हामीले त्यो आयोजना हेर्दैनौँ, खास किन समस्या भयो त त्यो साइड र डिजाइन हेरेपछि थाहा हुन्छ, तर यसरी बाढीले बगाउनुमा ढलानको सपोर्टले लोड थेग्न नसकेको हुनसक्छ,’ उनले भने, ‘त्यो पुलको भित्र केवुल राखिएको हुन्छ ।

पहिलो चरणमा १४ दिनभित्र र दोस्रो चरणमा एक महिनामा केवुल तन्काउनुपर्ने हुन्छ । समग्रमा भन्दा यो एक प्रकारको डिजास्टर नै हो ।’ वर्षाको वेला बाढीको खतरा हुने भएकाले मौसम हेरेर यस्ता काम गर्नुपर्ने उनको तर्क छ । 

असारसम्ममा निर्माण सक्ने जिम्मा लिएको निर्माण कम्पनीले ढिलोमा माघसम्ममा काम सक्ने जनाएको थियो । सुनकोसी नदीकै घुर्मी र हर्कपुर जोड्ने पुल यसअघि हावाले लडाएको थियो । 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १३:४६

प्रतिक्रिया दिनुहोस्