सिन्धुलिमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो

सिन्धुली – शुक्रबार एकैदिन नौ जना संक्रमित थपिएसङ्गै सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ४३ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले २४५ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी हेटौडा पठाएको मध्ये आठ जना र सुनकोसी गाँउपालिकाले ४७ जनाको स्वाब संकलन गरि धुलिखेल पठाएको मध्ये एक जना गरी ९ जनाको पिसिआर पोजेटिभ आएको सिन्धुलि अस्पतालले जनाएको छ ।

सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार हेटौडा प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएका आठ जना मध्ये पाँच जना जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा कार्यरत, भू–संरक्षण कार्यालयको क्वारेन्टिनमा बसेका दुई जना र बर्दबहादुर गणमा कार्यरत एक जना नेपाली सेना रहेका छन् ।

कमलामाई नगरपालिका– ६ का ५६ बर्षिय, ३४ बर्षिय, २८ बर्षिय, वडा नं. ७ का २६ बर्षिय, ३३ बर्षिय, ३० बर्षिय, १३ बर्षिय, हरिहरपुरगढी गाँउपालिकाका ३१ बर्षिय पुरुष र सुनकोसी गाँउपालिकाका ६२ बर्षिय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको व्यवस्थापक श्रेष्ठले बताए ।

संक्रमित नौ जना नयाँ बिरामी मध्ये पाँच जनाले जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा नै र अर्का एक जनाले होमक्वारेन्टिनमा नै बसेर उपचार गर्ने बताइएको छ भने बाँकी तीन जनालाई भने एपोलो अस्पतालको आईसोलेसनमा भर्ना गरी उपचार गरिने छ ।

हाल एपोलो अस्पतालमा १६ जना र सिन्धुली अस्पतालमा एक जना गरी १७ जना बिरामीको उपचार भई रहेको छ । व्यवस्थापक श्रेष्ठका अनुसार सिन्धुलीमा भेटिएका कोरोना संक्रमित चार जना नेपाली सेनाको बलम्बुमा सशस्त्र प्रहरीको क्याम्पमा उपचार भई रहेको र धुलीखेल अस्पतालमा एक जनाको उपचार भईरहेको छ ।

उनका अनुसार सबै बिरामीको अवस्था सामान्य रहेको छ । सिन्धुली जिल्लामा अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार ०९:०३

प्रतिक्रिया दिनुहोस्