आज ऋषि पञ्चमी, सिन्धुलिका नदी किनारमा स्नान गर्न रोक

सिन्धुली । नेपाली हिन्दु नारीहरुले आज अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदैछन् ।

आज बिहानै उठेर महिलाहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन । तर, कोरोनाभाइरस महामारीका कारण यो वर्ष नदी, ताल, तलाउ र पोखरीमा नुहाउन रोक लगाइएको छ ।

हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा रामचन्द्र गौतमको भनाइ छ ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । यसैकारण आज दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनको भनाइ छ ।

यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

तर, कोरोनाभाइरस महामारीका कारण घर घरमै स्नान गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सम्पुर्ण महिला दिदिबहिनिहरुलाइ आह्वान गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाका अनुसार हरितालिका तिज शुरु भए सङ्गै मठमन्दिर तलाउमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

जिल्ला स्थित सबै स्थानिय तहले आफ्नो क्षेत्रमा सटडाउन गरेको भएर पनि महिला दिदिबहिनीहरुले त्यस्तो भिडभाड नगरेको प्रशासन कार्यालयको मुल्यांकन छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार ०९:२३

प्रतिक्रिया दिनुहोस्