सिन्धुलीमा विपक्षी गठबन्धन बिद्यार्थी संगठनको मसाल जुलुस

सिन्धुली – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरु ने.वि.संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले सिन्धुलीमाढीमा मशाल जुलुस सहित प्रदर्शन गरेका छन ।

प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै रुष्ट भएका विद्यार्थीहरुले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका हुन ।

युवा विद्यार्थीहरु सिन्धुली सदरमुकामको गैरीबजारबाट मशाल बोकेर के.पी.ओली मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिनिधिसभा विघटन खारेज गर, मूल्यवृद्धि नियन्त्रण गर जस्ता नारा लगाउँदै लोकतान्त्रिक चोकसम्म पुगेका थिए ।

प्रहरीले बिच बाटोमै पटक–पटक मशाल खोस्ने प्रयत्न गरेको थियो । लोकतान्त्रिक चोकमा आन्दोलनकारी आइपुगेपछि प्रहरीले मशाल खोस्न हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारीबिच लामो समयसम्म लोकतान्त्रिक चोकमा निकै खैलाबैला चलेको थियो । उक्त क्रममा आन्दोलनकारी र प्रहरीबिच झडप परी धकेलाधकेल र लठ्ठी हानाहान समेत भएको थियो ।

कार्यक्रममा विद्यार्थी नेताहरुले बोल्दै के.पी. ओलीलाई घुंडा टेकाएरै छाड्ने, असंवैधानिक कार्य कदापी स्वीकार्य नहुने बताए । कार्यक्रममा ने.वि.संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, नेपाल तरुण दल, वाइसीएल, युवा संघ, नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा एमालेका विभिन्न ओहदाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार ०४:३०

प्रतिक्रिया दिनुहोस्