राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको उद्घाटन गर्नुभएको छ । संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आउनुभएको हो ।

कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्व संग्रहालय निर्माण कार्य सम्पन्न गरेको हो । गएको २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो ।

६ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । संग्रहालयमा वीर योद्वाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।

यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक सोही समारोहमा अनावरण गर्नुभएको छ । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो ।

ऐतिहासिक युद्धस्थलम आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गर्नुभएको हो । नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो । 

उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकाको मातहत तथा संरक्षणमा रहनेगरी नगरपालिकाका मेयर खड्ग खत्रीलाइ हस्तान्तरण गरिएको छ ।

सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ । आबस्यक कर्मचारी नियुक्त गरि युद्ध संग्रहालयको संरक्षण तथा ब्यबस्थापन गरिने मेयर खड्ग खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार ०७:४७

प्रतिक्रिया दिनुहोस्