सिन्धुली — जंगली हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले बुधबार राहत वितरण गरेको छ ।
सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं २, ३, ६, ११ र कमलामाई नगरपालिकाको वडा नं १३ र १४ का हात्ती प्रभावित १४० परिवारलाई खाद्यान्न, न्यानो कपडा र प्रतिपरिवार नगद पाँच हजारका दरले कांग्रेस वाग्मती प्रदेश समितिले राहत सहयोग गरेको हो ।
कांग्रेस वाग्मती प्रदेश सभापति एवं प्रदेससभा संसदीय दलका नेता इन्द्र बानियाँ लगायत सम्पूर्ण पदाधिकारीले कमलामाई नगरपालिकाको वडा नं १४ को चन्दनपुर, दुधौली नगरपालिका ३ को कालापानी र वडा नं ११ को टाँडीमा जंगली हात्ती पीडित परिवारलाई संयुक्त रुपमा राहत वितरण गरेका थिए ।
यस अवसरमा सभापति बानियाँले जंगली हात्तीले घर भत्काउने, अन्नबाली नष्ट गर्ने, ज्यानै लिनेसम्मका हर्कत गरेकाले स्थानीयलाई प्रदेश वन मन्त्रालयसँग समन्वय गरी हात्ती संरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने आश्वासन दिए ।
स्थानीयका अनुसार दुई महिनाअघि दुधौलीबाट छिरेका तीनवटा जंगली हात्ती रानीवासको सुनखानी आसपासमा अझै रहेका छन् । ती हात्तीले घर भत्काउने, भकारीको अन्न खाने, तरकारी तथा बालीमा क्षति पुर्याउने, केरा खेती नष्ट गर्ने लगायत उपद्रो गर्दैआएका छन् ।
‘प्रदेशभित्र पीडामा परेका नागरिकलाई क्षणिक मल्हमपट्टी लगाउन न्यानो सिरक, चामल, नुन, तेल र नगद प्रदान गरेका छौं,’ सभापति बानियाँले भने, ‘हात्तीबाट भएको क्षतिको परिपुरण गर्न प्रदेश सरकारबाट थप राहतको व्यवस्था गर्नेछौं ।’