सिन्धुली । नेपाली काँग्रेस सिन्धुलीले मङगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मरिण गाँउपालिकाले राजनीतिक आस्थाका भरमा शिक्षकलाई जथाभावी सरुवा गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल शिक्षक सङघ, मरिण गाँउपालिकाका अध्यक्ष तथा मरिण गाँउपालिका–१ स्थित आधारभुत विद्यालय मधुवनीका प्रधानाध्यापक बृजबहादुर घोलेलाई गाँउपालकाले राजनीतिक अस्थाकै भरमा निजको ईच्छा बिपरित जबर्जस्ती सरुवा गरेको भन्दै काँग्रेसले बिरोध जनाएको हो ।
नेपाली काँग्रेसका जिल्ला सभापति उज्ज्वलप्रसाद बरालद्वारा हस्ताक्षेरित विज्ञप्तीमा नेपालको विद्यमान शिक्षा ऐन तथा कानूनलाई बेवास्ता गरी विधि विपरित शिक्षकलाई मनोमानी रुपमा कामकाजमा खटाउने कार्य तत्काल बदर गरी सरुवा गरेका शिक्षक घोलेलाई साविककै विद्यालयमा काम गर्ने व्यवस्था मिलाउन जोडदार माग गरिएको छ । आगामी दिनमा राजनीतिक आस्थाकै भरमा कर्तव्यनिष्ठ शिक्षकलाई त्यस किसिमको व्यवहार नदोहो¥याउन गाँउपालिका समक्ष काँग्रेसले माग गरेको छ ।
शिक्षक सरुवाकै बिषयलाई लिएर सोमबार नेपाल शिक्षक सङघ सिन्धुलीले पनि प्रेस विज्ञप्ती जारी बिरोध जनाएको थियो । मरिण गाँउ कार्यपालिकाको मङसिर १२ गतेको निर्णय अनुसार काज सरुवा गरिएका शिक्षक घोले सरुवा भएको विद्यालय आधारभुत विद्यालय देउरालीमा हालसम्म हाजिर हुन जानु भएको छैन । सरुवा गरिएको शिक्षक घोलेले साबिककै स्कूलमा कार्यरत रहन माग गर्दै मरिण गाँउपालिका समक्ष निबेदन दिएको जानकारी दिनुभयो ।
मरिण गाँउपालिका–६स्थित आधारभुत विद्यालय देउराली शिक्षक घोलेलाई घरपायक भएको र त्यतीबेला पाँच जना शिक्षकको काज सरुवा गरिएको मरिण गाँउपालिका शिक्षा शाखा संयोजक नबराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार काज सरुवा गरिएका शिक्षक घोलेलाई कार्यरत विद्यालयले माघ ६ गते नै रमाना दिई सकेको छ ।










