सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि यही चैत्र ११ गतेदेखि एकै समय जिल्लाको ७९ वटै वडाबाट एक महिने ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भ गर्ने भएको छ ।
आगामी एक महिना सम्म सञ्चालन हुने अभियानको विभिन्न उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आयोजित सभाले जनाएको छ ।
उक्त अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी सचिव इस्वरकुमार बस्नेतले जानकारी दिए ।
स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको मुख्य उद्देश्य रहेको सचिव बस्नेतले बताए ।
यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने समेत यस अभियानको उदेश्य रहेको उनले जानकारी दिए ।
कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ ।
प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गरिने नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलले बताए ।
राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझबारे नेतृत्वमा वर्तमान सरकारले संसद्बाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागत रूपमा चिर्दै वास्तविक रूपमा राख्ने अभियानको उद्देश्य रहेको सभापती पोखरेलको भनाइ छ ।
उक्त अभियानको लागी नेपाली कांग्रेस सिन्धुलीले महासमिती सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्रीय समिती, प्रदेश समिती तथा प्रतिनिधी, पालिका समिती लगायत नेपाल प्रेस युनियन समेतलाइ प्रचार प्रसारको लागि संयोजक तोकि जिल्लाको सबै वडामा प्रतिनिधि खटाएको छ ।