सिन्धुली – आसन्न स्थानिय तहको निर्वाचन लक्षित नेपाली काँग्रेसले देशभर शुरु गरेको घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको पहिलो दिनमै सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ ले काँग्रेस वडाध्यक्षको उम्मेदवार टुंग्याएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ बाट वडाध्यक्ष पदको उम्मेदवार राजन दाहाललाई सर्वसम्मत टुंग्याएको हो ।
नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य इन्दिरा निरौला नेतृत्वको घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियानको वडा नं ७ मा आयोजित कार्यक्रमले दाहाललाई सर्वसम्मत वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो ।
दाहाल पार्टीको राजनीतिमा करिब ३० वर्ष देखि क्रियाशिल छन । पार्टिबाट वडाध्यक्षको लागि स्थानिय राजन दाहाल, कृष्णचन्द्र दाहाल र बेद कार्कीको आकाङ्क्षा रहेको थियो । यस वडा नेपाली काङ्ग्रेसले गएको २०७४ सालको निर्वाचनमा पनि बिजयी बनेको वडा हो ।
त्यस्तै आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी यसै दुधौली नगरपालिका वडा नं. ८ ले पनि नेपाली काङ्ग्रेसबाट वडाअध्यक्ष पदको उम्मेदवार टुंग्याइसकेको छ ।
आईतवार बसेको नेपाली काँग्रेस दुधौली नगरपालिका वडा नं. ८ वडा कार्य समितिको वडा भेलाले दुधौली नगरपालिका ८ को वडा अध्यक्षमा केशव वराललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको वडा सचिव लक्ष्मण खड्काले जानकारी दिए ।
पार्टिको राजनितिमा करिव ३ दशक देखी क्रियाशिल रहेका बरालसँगै तुलसी प्रसाद भट्टराई, शम्भु दाहाल र रित बहादुर ठकुरी नेपाली काँग्रेसबाट वडा अध्यक्षको दौडमा थिए ।









