सिन्धुलीका १०६ भुमीहिनलाई जग्गाधनीपुर्जा बितरण

दुधौली (सिन्धुली), चैत २०। राष्ट्रिय भुमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको छ ।

दुधौली नगरपालिका–९ दोकानडाँडामा आईतबार आयोजित एक कार्यक्रममा भुमि व्यवस्था तथा सहरी विकास मन्त्री शशी श्रेष्ठले १०६ घर परिवार मुसहर परिवारलाई भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गर्नु भएको हो ।

सो अवसरमा उहाँले देशमै पहिलो पटक सिन्धुली जिल्लाबाट राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको बताउनुभयो । उहाँले सिङगो देश नै भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने अभियानमा जुटको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी एक बर्ष भित्र गाँउ ब्लकको जग्गा नाप्ने र पुर्जा पनि बितरण गरिने छ । अहिले सिन्धुली जिल्लाबाट सुरु भएको छ ।’ बर्तमान गठबन्धन सरकारको पहिलो प्राथमिकता भनेको संविधान रक्षा गर्नु भएको चर्चा गर्दै त्यसैक्रममा संविधानले दिएको अधिकार स्वरुप भुमिहिन मुसहर बस्तिले जग्गा धनी पुर्जा प्राप्त गरेको उहाँले बताउनुभयो ।

संविधानले दिएको हक अधिकार कार्यान्वयन गराउने पहिलो प्राथमिकता सरकारले गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘राष्ट्र रहे हामी रहन्छौ, नेपाल रहे नेपाली रहन्छौं । भुभिहिन दलित र भुमिहिन सुकुम्बासी कोही पनि जग्गाधनी पुर्जा पाउन छुट्न हुदैन । दोहोरिनु हुदैन ।’

सो अबसरमा राष्ट्रिय भुमि आयोगका अध्यक्ष केसब निरौलाले आयोगले पहिलो प्राथमिकता दिएर भुहिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको बताउनुभयो । राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष महेन्द्र खड्काले अहिलेको राष्ट्रिय भुमि आयोग अन्तिम आयोग भएको र अहिले दिएको जग्गाधनी पुर्जाको जग्गा १० बर्षसम्म बिक्री गर्न नपाईने बताउनुभयो ।

त्यस्तै भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिब रामप्रसाद थपलियाले पहिलेको आयोग र अहिलेको आयोगको काममा धेरै फरक आएको र आयोगको कार्यविधिमा केहि कमिकम्जोरी पाएमा आगामी दिनमा सच्याईने बताउनुभयो ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज लेखनाथ दाहाल राजनले राष्ट्रिय भुमि आयोगले छोटो समयमा नै राष्ट्र व्यापी रुपमा भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि धेरै पटक आयोग बने, जे काम हुनु पर्ने भएन । करोडौ खर्च भयो, भ्रष्टचार मात्र गर्ने काम भयो ।’

सो अबसरमा राष्ट्रिय भुमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले सिन्धुली जिल्लामा उक्त आयोग गठन भएको चार महिनाको समयमा नै उदाहरणियका काम गर्न सफल भएको बताउनुभयो । उहाँले दुधौली नगरपालिकाका वडा नं. ६, ७ र ९ का १०६ घर दलित मुसहर परिवारलाई जग्गाधनी पुर्जा बितरण गरिएको जानकारी दिनुभयो ।

भुमिहिन मुसहर परिबारले बर्षौदेखि उपभोग गर्दै आएको अधिकतम पाँच कठ्ठा सम्म जग्गाको लालपुर्जा पाएको उहाँले बताउनुभयो । दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सङघिय सांसद गणेश पहाडी, बागमती प्रदेश सांसद प्रदिप कटुवाल, पूर्व सांसद गंगा नेपाल र नेपाली काँग्रेसका नेता गोबिन्द पहाडीले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार ०९:५६

प्रतिक्रिया दिनुहोस्