काठमाडौं – उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टीको शनिबार बिमोचन गरिएको छ । काठमाडौैंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगाएतले पुस्तक बिमोचन गर्नुभएको हो । घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा हो ।
घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले प्रायजसो श्रीमानहरू बिदेश जानुपर्ने बाध्यता, श्रीमान विदेशमा हुँदा नेपालमा श्रीमतीबाट हुने धोका र छलकपटका बारेमा मात्रै चर्चा हुने गरेकोमा यो पुस्तकमा श्रीमानलाइ कुरेर जीवन बिताएका श्रीमती र परिवारको दुःख समेटिएको बताउनुभयो ।
सामान्यतया बैदेशिक रोजगारीमा जानेहरूको मात्रै दुःख लेख्ने गरिएको छ, उनीहरूको समस्या मात्रै उठाउने गरिएको छ कार्कीले भन्नुभयो, तर घुम्टीमा विदेशमा आफन्त पठाएर नेपालमा बस्ने परिवारको दुःख र असजिलाहरूको बारेमा उठाईएको छ । नदेखिएको वा खोज्न नखोजिएको पाटोको उजागर पुस्तकले गरेको उहाँको भनाइ थियो ।
सुरक्षित आप्रवास परियोजनाका टिम लिडर घिमिरेले घुम्टी बर्तमान समाजको यर्थाथ चित्र बोकेको पुस्तक भएको बताउनुभयो । घिमिरेले बैदेशिक रोजगारको सामाजिक मूल्य सम्बन्धि बिषय उठान गर्दा लैगिंक संवेदनशिलतालाइ ध्यान दिनुपर्ने बताउदै यसबारेमा अझै धेरै कलम चलाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
पुस्तकले आप्रवासनसँग सम्बन्धित महिला तथा बालबालिकाको प्रतिनिधिमूलक कथा बोलेको बताउदै यसबाट आगामी दिनमा सुरक्षित आप्रवासनको क्षेत्रमा गर्नुपर्ने काम अझै धेरै रहेको देखिएको धारणा राख्नुभयो ।
यस्तै सचिब अर्यालले बैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता रहेको बताउदै बैदेशिक रोजगारीको क्षेत्रलाइ सकेसम्म सुरक्षित बनाउनको लागि सरकारले काम गरिरहेको बताउनुभयो । बिदेशबाट फर्किएर आएकाहरूलाइ सीप र क्षमताको आधारमा काम गर्ने वातावरण बनाइदिने तथा अनुदान रकम दिने काम सरकारले गरिरहेको बताउदै सचिब अर्यालले यसले विदेशबाट फर्किएकाहरूको जीविको पार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । घुम्टी जस्ता पुस्तकले सरकारी निकायलाइ नीति बनाउन तथा गैह्र सरकारी संघ सस्थालाइ पैरबी गर्नमा सघाउ पुग्ने पनि सचिब अर्यालको भनाइ थियो ।
लेखक पौडेलले सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा आफूले मात्रै सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको बताउनुभयो । पुरुषहरूलाइ धन कमाउन विदेश पठाएका महिलाहरूले नेपालमा एक्लै संघर्ष गर्नुपर्दाका दुःख, अझ परिवारका भरोसा मानेका पुरुषलाइ उतै गुमाउनुपर्दाको पीडाले विक्षिप्त महिला र उनीहरूको जीवन रक्षाको लागि सबै पक्षले काम गर्नुपर्ने लेखक पौडेलको भनाइ छ ।
लेखक पौडेलको यो पहिलो कृती हो । पुस्तक भित्र विदेश गएका आफन्तको पखाईमा रहेका नेपालका प्रियजनहरूको भावना मिश्रित वास्तविक कथाहरू रहेका छन् । बषौदेखि विदेश गएका श्रीमानको पखाईमा बसेका श्रीमती, बेपत्ता श्रीमानको खोजीमा भौतारिएका श्रीमती, अनुहारै नचिनेका तर आफ्ना बा को पखाईमा रहेका छोराछोरीका कथा पुस्तकमा छ । धन कमाउन मायाँ गर्ने मनहरू यतै छोडेर गएका युवाहरू र उनको पखाईमा बसेका परिवार बीचको विछोडको कथा पुस्तकमा छ ।