आइसोलेशन भवन निर्माणका लागी ६ दिनमा ११ लाख सहयोग

सिन्धुली । पच्चीस दिन भित्र निर्माणकार्य सम्पन्न हुने गरि शुरु भएको ५० बेडको आइसोलेसन भवन निर्माणको काम १५ प्रतिशत सम्पन्न भएको छ ।

निर्माण शुरु भएको छैटौं दिनसम्म आइपुग्दा दुई भवन मध्य एउटा भवनको झ्यालसम्मको गाह्रो निर्माणकार्य सम्पन्न भएको छ भने दोस्रो भवनको टाइपिङ्सम्मको काम सम्पन्न भएको छ ।

भवन निर्माण कार्यमा सामाजिक संघसंस्था, ब्यक्ती लगाएतले आर्थिक, सामाग्री र श्रमदान गरेर स्वेच्छाले सहयोग गरिरहेका छन । गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बर्षे अधिवेशनको पहिलो वैठकमा सोमबार आइसोलेसन भवन निर्माणका लागि पाँच लाख रुपैया नगद सहयोग गर्ने निर्णय गरेको छ ।

आइसोलेसन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठले हालसम्म कमलामाइ नगरपालिकाको कार्यालयले ३ लाख, दक्षिणकाली सामुदायिक बन उपभोक्ता समितिले १ लाख १ हजार १ सय ११ साथै ५ ट्राक्टर ढुंगा र अन्य सबै नगद सहयोग गरेर १ लाख ५० हजार गरि कुल करिब ६ लाख रुपैयाँ नगद सहयोग प्राप्त भैसकेको र गोलन्जोर गाउँपालिकाले ५ लाख सहयोग गर्ने निर्णय गरेको खबर प्राप्त भएको बताए ।

भवन निर्माणका लागि आबस्यकिय सामाग्री हामसम्म शुनकोशी गाउँपालिकाको कार्यालयले १२ टिप गिट्टि र १४ टिप बालुवा, क.न.पा ७ निवासी रामबहादुर रानामगरबाट २५ टिप ढुंगा, रसुवा कन्ट्रक्सनबाट ४ हाइबा बालुवा, गोलन्जोर गाउँपालिका ५ का रामकाजी थापाबाट ५० बोरा सिमेण्ट, बिजयश्री हार्डवयर ढुङ्ग्रेबासबाट २ बण्डल जस्तापाता सहयोग भएको अध्यक्ष श्रेष्ठले बताए ।

आइसोलेसन भवन निर्माणका लागि जिल्ला स्थित सबै स्थानिय तहमा पत्रमार्फत सहयोगको लागि अनुरोध गरेको र कतिपय गाउपालिका, नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरिसकेको तर समितिमा उक्त सहयोग नआइसकेको श्रेष्ठले बताए ।

मरिण गाउँपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिकाको कार्यपालिका बैठकले सहयोग रकम निर्णय गरेको खबर पाएपनी आधिकारिक रुपमा उक्त सहयोग समितीमा आइनसकेको र छिट्टै आधिकारिक रुपमा सहयोग प्राप्त हुने श्रेष्ठले बताए ।

पछिल्लो दुइ सातादेखि (कोभिड–१९) को संक्रमण बढेसँगै आइसोलेसन वेड अभाव हुन थालेपछी सिन्धुलिमा ५० वेडको आइसोलेसन अस्पताल निर्माण कार्य सुरु गरिएको हो । जिल्लाको कमलामाई नगरपालिका -६ स्थित शिबनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागतमा आइसोलेसन अस्पतालको निर्माण कार्य शुरु गरिएको छ ।

बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको सक्रियता तथा सिन्धुली अस्पतालको संयोजनमा २५ दिनभित्र निर्माण सम्पन्न गरिनेगरी अस्पतालको निर्माण कार्य थालिएको हो ।

आईसोलेसन अस्पताल निर्माणमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको ९७ लाख रुपैयाँ सहयोग र जिल्लाका स्थानीय तह, सामाजिक संघसंस्था र सहयोगिसँगको साझेदारिमा अस्पताल निर्माण गरिने बागमती प्रदेश सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४४ जना रहेका छन ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ११:०३

प्रतिक्रिया दिनुहोस्