सिन्धुलीमा ७ पालिका सहित ७३ वडाको मतगणना सकियो

सिन्धुली – सिन्धुलीमा हालसम्म एक नगरपालिकासहित ७ वटा गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा मतगणना जारी रहेको छ । स्थानीय तहको निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार हालसम्म एक नगरपालिकासहित माओवादी केन्द्रले तीनवटा स्थानीय तहमा नेतृत्वसहित विजयी हासिल गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले भने दुई दुईवटा स्थानीय तहमा नेतृत्वसहित बिजयी भएका छन ।

माओवादी केन्द्रबाट दुधौली नगरपालिकाको मेयरमा दिनेश अधिकारी दनुवार, मरिण गाउँपालिकाको अध्यक्षमा विमर्श मोक्तान (प्रख्यात) र हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा वज्रध्वज वाइबा विजयी भएका छन् । यी पालिकाको उप प्रमुखमा भने गठबन्धन दलकै नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । दुधौली नगरको उप प्रमुखमा कांग्रेसबाट चन्द्रकिश्वर थारु, मरिण गाउँपालिकाको उपाध्यक्षमा विमला माझी र हरिहरपुरगढी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै चेख बहादुर थिङ निर्वाचित भएका छन् ।

यस्तै कांग्रेसबाट तिनपाटन गाउँपालिकाको अध्यक्षमा कर्ण थापा मगर र घ्याङलेख गाउँपालिकाको अध्यक्षमा जगत बहादुर भोलन विजयी भएका छन् । उपाध्यक्षहरुमा नेकपा माओवादी केन्द्रबाट तिनपाटनमा अशोक पुलामी र घ्याङलेखमा शंकरमान घलान विजयी भएका हुन् ।

एमालेले भने गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाको अध्यक्ष जितेको छ । गोलन्जोर गाउँपालिकामा गठबन्धन दलका तर्फबाट कांग्रेसका उमेदवार पुष्प कार्कीलाई पछि पार्दै एमालेका शंकरराज बराल गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उक्त पालिकाको उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपाने विजयी भएका छन् ।

यस्तै फिक्कल गाउँपालिकामा एमालेकी पार्वती सुनुवार गाउँपालिका अध्यक्षमा विजयी भएकी छिन । उनी गठबन्धन दलको तर्फबाट कांग्रेसका उम्मेदवार नृप भुजेललाई पछि पार्दै अध्यक्षमा विजयी भएकी हुन् । फिक्कल गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राजु बराल विजयी भएका छन् ।

जिल्लाको कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा भने अहिले मतगणना जारी रहेको छ । हालसम्म कमलामाई नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार पोखरेल र उपमेयरमा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठ अग्रस्थानमा छन् । मेयरमा एमालेका महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मन्जु देबकोटाले गठबन्धन दलका उमेदवारलाई पछ्याई रहेका छन् ।

सुनकोशी गाउँपालिकामा गठबन्धनदलकै उमेदवारहरु अध्यक्षमा माओवादी केन्द्रकी दिपा बोहोरा दाहाल र उपाध्यक्षमा कांग्रेसका कपिला कोइरालाको अग्रता कायम छ । उनीहरुलाई पनि एमालेका उमेदवारले पच्छाई रहेका छन्। ७ वटा वडा रहेको सुनकोशीमा अब वडा नम्बर ७ को मात्र मत गणना हुन बाँकी रहेको छ भने कमलामाइ नगरपालिकाको ९, ११, १२, १३ र १४ नम्बर वडाको मतगणना सम्पन्न हुन बाकी रहेको छ ।

जिल्लामा ७९ वटा वडाहरु रहेका छन् । जस मध्ये ७३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार हालसम्म कांग्रेस २९ वटा वडा, माओवादी केन्द्र २६ वटा र एमालेले १८ वटा वडामा विजयी भएका छन् । अझै ६ वटा वडाको मतगणना सम्पन्न हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १५:५१

प्रतिक्रिया दिनुहोस्