नगरप्रमुख पोखरेलले पद ग्रहणपछि गरेका तीन महत्वपूर्ण निर्णय

सिन्धुली – कमलामाइ नगरपालिकाका नबनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सोमबार औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणसंगै नगरप्रमुख पोखरेलले तीन महत्वपुर्ण निर्णय गर्नुभएको छ । पहिलो निर्णय आफुले उम्मेदवार रहदा प्रतिबद्धता गरेअनुरुप नगरपालिकाबाट हाल लागु गरिएका कर शुल्क समायोजनको लागी पहल शुरु गरिएको छ ।

जसको लागी एक कार्यदल गठन गरि कार्यदलबाट प्राप्त प्रतिवेदको आधारमा कर शुल्क समायोजन गर्ने निर्णयको लागी नगरप्रमुखले हस्ताक्षर गर्नुभएको छ । “कमलामाई नगरपालिकाले विभिन्न शुल्कमा लगाइएको कर समायोजनको सन्दर्भमा आफुले प्रतिबद्धता गरेको र आम नगरबासिको चाहाना भएकोले नगरपालिकाबाट हाल लागु गरिएका कर शुल्क समायोजनकालागि एक कार्यदल गठन गर्ने र कार्यदलबाट प्राप्त प्रतिवेदनको आधारमा कर शुल्क समायोजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

यता केही समय अघि सिन्धुली बासी, संचारकर्मी र बिद्यार्थीलाई सिन्धुली गढी प्रबेशमा लाग्ने शुल्क छुट गराउनु पर्ने व्यापक माग भएपनी नगरपालिकाले उक्त माग बेवास्ता गरिरहेको अबस्थामा नगरप्रमुखले पदभार ग्रहण गर्दै गर्दा बिद्यार्थी, सिन्धुलीबासी र आन्तरिक पर्यटकलाइ ५० प्रतिशत छुट गराउने निर्णय भएको छ । त्यस्तै आम संचारकर्मी तथा पत्रकारलाइ परिचयपत्रको आधारमा निशुल्क प्रबेशको निर्णय गरिएको नबनिर्वाचित नगरप्रमुख पोखरेलले बताउनुभयो ।

कमलामाई नगरपालिकाले यसअघि जिल्लाबासी, बिधार्थी, पत्रकार र स्वदेशी पर्यटकलाई सिन्धुलीगढी प्रवेशमा प्रति व्यक्ति ५० रुपैया प्रबेश शुल्क लिदै आएको थियो ।

तीन निर्णय मध्ये नगरप्रमुख पोखरेलले नगरक्षेत्र भित्रका अतिविपन्न परिवारको निशुल्क विमा गरिने कार्यक्रमलाई निरन्तरता दिइने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

‘कमलामाई नगरपालिका क्षेत्रभित्रका अतिविपन्न नगरवासीलाई स्वास्थ्य उपचारको सहज पहुँचका लागि आगामी ०७९/८० देखि लागु हुने गरि नगरपालिका क्षेत्रका अतिविपन्न परिवारलाई स्वास्थ्य मापदण्ड अनुसार निशुल्क स्वास्थ्य विमाको व्यवस्था हुने निर्णय गरिएको छ ।’

नव निर्वाचित मेयर पोखरेलले नगरपालिकाको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सबै मिलेर नगरलाई सुन्दर र समुन्त बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । नगरप्रमुख र उपप्रमुखको पदभार ग्रहण संगै कमलामाई नगरपालिकाका १४ वडाका वडाअध्यक्ष सहित वडा सदस्यलाई सपथ खुवाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ०९:२९

प्रतिक्रिया दिनुहोस्