गोलन्जोर गाउँकार्यपालिकामा स्पष्ट बहुमत सहित काङ्ग्रेस बिजयी

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । मंगलबार ६ जना सदस्य निर्वाचित भएसँगै पालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । बुधबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका सबै उम्मेदवार निर्वाचित भएका हुन ।

जिल्लाका अन्य आठ पालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्र लगायत अन्य तिन दलिय गठबन्धन भएर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएपनी गोलन्जोर गाउँपालिकामा भने गठबन्धनबाट निर्वाचित उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकार लगाएत अन्य गठबन्धन दलले नेकपा एमालेसंग आन्तरिक गठबन्धन गरि कार्यपालिका सदस्यमा मतदान गरेका छन । निर्वाचनमा सम्पुर्ण सदस्य नेपाली काङ्ग्रेसबाट निर्वाचित भएपछी गोलन्जोर गाउँकार्यपालिकामा स्पष्ट बहुमत सहित नेपाली काङ्ग्रेस उभिएको छ ।

गाउँ कार्यपालिकाको लागी महिला चार सदस्यमा भएको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उर्वशी कोइराला ढुङ्गेल, सम्झना पोखरेल, खरिमाया पुर्बछाने र शान्ती कामी निर्वाचित भएका छन भने दलित/अल्पसंख्यकबाट अम्बरदिप बिक र सम्बरबहादुर माझी(राजकुमार) निर्वाचित भएका छन ।

कुल ३७ सदस्यले मतदान गरेका गोलन्जोर गाउँकार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसका सबै उम्मेदवारले २२/२२ मत प्राप्त गरि बिजयी भएका छन भने एमाले र माओबादीको उम्मेदवारले १५/१५ मत प्राप्त गरेका छन ।

नेपाली काङ्ग्रेसबाट गोलन्जोर गाउँकार्यपालिकामा ३ वडाध्यक्ष सहित ९ सदस्य, नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष सहित ३ सदस्य र माओबादी केन्द्रबाट उपाध्यक्ष सहित ३ सदस्य गरि १५ सदस्य गाउँ कार्यपालिका सदस्य निर्बाचित भएका छन ।

गोलन्जोर गाउँकार्यपालिकामा अब नेपाली काङ्ग्रेससँग ६० प्रतिशत सदस्य रहेका छन् । बहुमतकालागि कुल सदस्यको ५१ प्रतिशत सदस्य भएपुग्छ । यो सँगै १५ सदस्यीय नगर कार्यपालिकामा काङ्ग्रेसकै बहुमत हुने भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिकाले गरेको निर्णयहरु गाउँ कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ को अनुसार सभा, कार्यपालिकाको वैठक बोलाउने, वैठकमा प्रस्ताव पेश गर्ने, गराउने काम गाउँपालिका अध्यक्षको हुने गर्दछ । तर कार्यपालिकाबाट बनेको नियमावलीले नै गाउँपालिका अध्यक्ष उपाध्यक्षको अधिकार निर्धारण गर्दछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ०६:४६

प्रतिक्रिया दिनुहोस्