“एक घर एक धारा”, सुनकोशी गाउँपालिकाको अभिभारा

असार ९ सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको आ.ब.२०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशन बिहिबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा राखिएको छ । सुनकोसी भौगोलिक हिसाबले पनि प्राय समुदाय सुख्खा क्षेत्रमा पर्ने भएकोले आगामी आ.ब.मा एक घर एक धाराको नीति लिइएको पालिका अध्यक्ष दिपा बोहरा दाहालले बताउनुभयो ।

निति कार्यक्रम प्रस्तुत गर्दै उहाले सुनकोशी गाउँपालिका भित्रका प्रत्येक घरपरिवारमा स्वच्छ, सफा र पर्याप्त पिउने पानीको ब्यवस्थापनका लागि सुक्दै गएको पानीको मुहान संरक्षण योजना सहित सुनकोशी लिफ्ट खानेपानीको ब्यवस्था गरिने बताउनुभयो ।

फोहोरलाई मोहरमा रुपान्तरण गर्ने गरी जैविक तथा अजैविक फोहोर व्यवस्थापनका लागि आवश्यक ब्यवस्था गरिने, खानेपानी तथा सरसफाई प्रबर्द्धन एवम् ब्यवस्थापनका लागि गाउँपालिकाले लिइएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने, सुनकोशी गाउँपालिका भित्र लिफ्ट खानेपानी तथा लिफ्ट सिंचाईको विद्युत महसुलमा ७५% गाउँपालिकाले किसानहरुलाई राहत स्वरुप अनुदान उपलब्ध गराउँदै आएकोमा त्यसलाई बढाई १००% पुर्याइने निति अघि सारिएको छ ।

सामाजिक विकास नीति अन्तर्गत स्वास्थ्य तर्फ गाउँपालिका भित्र “सुरक्षित मातृत्व, सुनकोशी गाउँपालिकाको दायित्व” नारा कार्यान्वयनका लागि गर्भवती महिलाको परिक्षण र पोषण सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिइने तथा गाउँपालिका मार्फत संचालित पोषण कार्यक्रममा पनि सो नारालाई मूल प्रवाहीकरण गरिने अध्यक्ष बोहोराले बताउनु भयो ।

विपन्न परिवारको पहिचान गरी “निःशुल्क स्वास्थ्य बीमा” कार्यक्रम संचालन गरिने त्यस्तै एक पालिका, एक सामुदायिक अस्पतालको नीति अनुसार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आ.व. २०७७/७८ मा गाउँपालिकाको वडा नं. ३ मा रहेको झागाझोली रातमाटा स्वास्थ्य चौकीको स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम प्राप्त भएकोमा उक्त अस्पताल स्तरोन्नतीको डि.पि.आर. निर्माण भई स्वीकृतीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको उल्लेख छ ।

हालको स्वास्थ्य चौकीसँग जोडिएको जग्गाको गाउँपालिकाको तर्फबाट प्रारम्भिक वातवरणीय परिक्षण प्रतिवेदन स्वीकृत गरी जग्गा प्राप्तिको लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू–संरक्षण विभागमा जग्गा प्राप्तिको प्रक्रिया उपर कारवाही भईरहेको छ ।

उक्त स्वास्थ्य चौकीको स्तरोन्नतीको कार्यलाई आ.व. २०७९/८० मा पनि प्राथमिकतामा राखिएको छ । कोभिड–१९ महामारीको अवस्था सामान्य हुँदै गए पनि यसको पुनरावृत्ति हुने सम्भावनालाई मध्यनजर गरी जनस्वास्थ्य मापदण्ड पालना गर्ने कार्यलाई निरन्तरता दिइने निति तथा कार्यक्रममा बताइएको छ ।

त्यस्तै शिक्षा तर्फ “गुणस्तरीय, जीवनोपयोगी र परिवर्तित परिस्थितिमा समायोजना हुने सभ्य र सक्षम जनशक्ति उत्पादन” भन्ने दुरदृष्टि सहित सुनकोशी गाउँपालिकाद्वारा तयार गरिएको “शिक्षा नीति २०७७” मा भएका कार्य नीतिगत व्यवस्थाहरुको कार्यान्वयनलाई प्राथमिकता प्रदान गरी सोको अलवा अन्य महत्वपूर्ण नीतिहरु अवलम्बन गरिने निति ल्याइएको छ ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यलाई जोड गरिने बौद्धिक अपांगता भएका विद्यार्थीहरुका लागि गाउँपालिका क्षेत्र भित्र संचालन गरिएको पठनपाठनको व्यवस्थालाई निरन्तरता दिइने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने निति ल्याइएको अध्यक्ष बोहोराले बताउनु भयो ।

खेलकुद तर्फ विद्यालय तहमा विद्यालय स्तरीय, वडा स्तरीय तथा गाउँपालिका स्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई प्रोत्साहित गरिने, सुनकोशी गाउँपालिका क्षेत्रबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलकुदमा भाग लिने उत्कृष्ट खेलाडी तथा जित हाँसिल गराउन सहयोग पुर्याउने प्रशिक्षकहरुलाई प्रोत्साहन गर्न पुरस्कार र सम्मानको व्यवस्था मिलाईने निति प्रस्तुत गरिएको छ ।

सामाजिक परिचालन तर्फ लैंगिक तथा घरेलु हिंसा न्यूनिकरण गर्दै हिंसा रहित परिवार-समाज निर्माणका लागि मनोसामाजिक परामर्शकर्ताहरुको प्रभावकारी परिचालन
गरिने राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा सहयोगी निकायहरुलाई गाउँपालिकाको प्राथमिकता प्राप्त क्षेत्रमा सामाजिक परिचालनको माध्यमबाट सामाजिक विकासमा संलग्न गराउने नीति अवलम्बन गरिने अध्यक्ष बोहोराले बताउनु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक नीति तर्फ सुनकोशी गाउँपालिका भित्र हुने महिला हिंसा तथा घरेलु हिंसा अन्त्यका लागि सचेतनामूलक कार्यक्रम संचालनका साथै सीप तथा व्यावसायिकता विकासका कार्यक्रम तर्फ उन्मुख गराई आर्थिक रुपमा आत्मनिर्भर हुने अवसर सिर्जना गरिने गाउँपालिकाका अध्यक्ष बोहोराले बताउनु भयो ।

त्यस्तै बालबालिका तर्फ सुनकोशी गाउँपालिकालाई वालश्रममुक्त गाउँपालिका बनाउन होटल, कलकारखाना तथा उद्योगमा अनुगमन गरी सुसूचित गराउन व्यवसायी तथा अभिभावकसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिने, आपतकालिन तथा जोखिममा रहेका बालबालिकाहरुको लागि बालउद्धार कोष मार्फत आर्थिक सहायता उपलब्ध गराइने लगायतका निति तथा कार्यक्रम सुनकोसी गाउँपालिकाले प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १७:४९

प्रतिक्रिया दिनुहोस्