गाउँपालिकाले करार अबधि थप नगरेपछी काङ्ग्रेसको धर्ना

सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले करारमा कार्यरत केहि कर्मचारीको करार अबधि नथप्ने निर्णय गरेपछी गोलन्जोर गाउँपालिकामा काङ्ग्रेस समर्थक निर्वाचित जनप्रतिनिधिले बिरोध जनाएका छन ।

गाउँपालिकाले साउन १ देखि काङ्ग्रेस समर्थनमा देखिएका करारका २२ कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको थियो ।

विस २०७८ पुस यता नियुक्त गरेका केहि करार कर्मचारीलाई साउन १ गतेदेखि करार अबधी थप नगरिएको खबर पालिकाले आफ्नो कार्यालय मार्फत सुचना सार्बजनिक गरेपनी कर्मचारीलाई कुनै सेवा अबधी थप नभएको आधिकारिक पत्र भने काटेको छैन ।

नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका सभापती मोतिराज सापकोटाले पालिकाको गतिविधि नियमानुसार हुनपर्ने, अराजक शैलीमा मनपरि निर्णय बन्द गर्नुपर्ने तथा राजनीतिक पुर्बाग्रह राखेर हटाइएका कर्मचारी बहाली गर्नुपर्ने माग राख्दै आइतबार कार्यालय अघि धर्ना कार्यक्रम गरि बिरोध प्रदर्शन गरिएको जानकारी दिए ।

यता गाउँपालिकाका अध्यक्ष संकरराज बरालले अन्धाधुन्ध रुपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारि करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएका केही कर्मचारीको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको बताए । स्रोत सुनिश्चितता नगरी चुनावलाई लक्षित गरेर कर्मचारी भर्ना गरेकाले अहिले पनि कर्मचारीको तलबमा लाखौलाख रुपैयाँ अपुग भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकहरुको हकमा पनि उनीहरुलाई व्यवस्थापन गर्न कार्यदल बनाइएको र कार्यदलले मूल्यांकन गरेर प्रतिवेदन बनाउने र सोही अनुसार करारका कर्मचारीहरुको व्यवस्थापन गरिने अध्यक्ष बरालले बताए । गाउँपालिकाभरमा शिक्षक र कर्मचारी गरी कुल १५० बढी जना करारका कर्मचारी छन् ।

करार कर्मचारीहरुको करार सम्झौता नवीकरण गर्ने नगर्ने निर्णय कार्यपालिका वा गाउँ सभाबाट हुनुपर्नेमा ऐन नियमले नचिनेको कार्यालयको निर्णय भन्दै गैरकानुनी तबरबाट भएका स्थानीय सरकारका गतिविधि रोकिनु पर्ने आन्दोलननकारिको माग रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार ०५:३०

प्रतिक्रिया दिनुहोस्