‘जनताको साथमा काङ्ग्रेस’ अभियानबारे सिन्धुलीमा तयारी छलफल सम्पन्न

सिन्धुली : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लक्षित नेपाली काङ्ग्रेसले घोषणा गरेको ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको पुर्बतयारी तथा छलफल नेपाली काङ्ग्रेस सिन्धुलीले बिहिबार सम्पन्न गरेको छ ।

नेपाली काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियानका सिन्धुली प्रतिनिधि नेपाल सरकारका निबर्तमान कानुन राज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रीनको प्रमुख आतिथ्यतामा तयारी छलफल सम्पन्न भएको हो ।

छलफलमा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ । पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने जानकारी दिइएको छ ।

सिन्धुलीमा उक्त अभियानको तयारी कार्यक्रम निर्धारण र उद्घाटन बारे जिल्ला कार्यसमितिको शुक्रवार बिहान बैठक बस्ने जिल्ला कार्यसमितीले जनाएको छ । र उक्त बैठक पछि बिहान १०:३० बजे अभियानको एक औपचारिक कार्यक्रम बिच उद्घाटन गरिने र निर्धारण कार्यक्रम बमोजिम जनताको साथ जाने काङ्ग्रेस सिन्धुलीले जनाएको छ ।

अभियान अन्तर्गत मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई काङ्ग्रेसले अपील गर्नेछ । त्यस्तै, जनताको घर-आँगनमा पुग्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे विविध ढंगले अन्तरक्रिया गर्ने अभियानको उद्देश्य रहेको केन्द्रीय प्रतिनिधि दिलमान पाख्रीनले बताउनुभयो ।

केन्द्रीय प्रतिनिधि पाख्रीनले कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने र निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उदेश्य रहेको बताउनुभयो ।

छलफलले शुक्रवारबाट शुरु गर्ने अभियानको क्रममा के कस्ता कार्यक्रमहरु आयोजना गरेर जनताको घरदैलोमा जाने भन्ने बारे शुक्रबार पुनः छलफल गरि अघि बड्ने नेपाली काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

उहाँले जिल्लाभित्र अभियानको समग्र समन्वय, अनुगमन र नेतृत्व जिल्ला कार्यसमितिले गर्ने उल्लेख गर्दै केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक सफल बनाउन जिल्ला कार्यसमितिले हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिती र पालिका समितीसंग आवश्यक समन्वय गरेर अघि बड्ने बताउनुभयो ।

काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलले मुख हेरेर होइन, रुख हेरेर अबको आम निर्वाचनमा जानुपर्ने औंल्याउनु भयो । यसको लागी काङ्ग्रेसको सबै नेता कार्यकर्तामा एकजुटको भावना जागृत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

जिल्लाभरका सबै गाउँ–नगरपालिकामा जिल्ला प्रदेश र केन्द्रका प्रतिनिधि खटाउने र खटिएका प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिसंग समन्वय गरि अभियान भरी तत्–तत् गाउँ–नगरपालिकामा क्रियाशील रहनुका साथै विभिन्न वडा एवं टोलका कार्यक्रम र अभियानमा सहभागी हुने जनाइएको छ । जिल्ला कार्यसमितिले अभियानलाई सफल बनाउन आफु अन्तर्गतका सबै तह एवं भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्ने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १२:१३

प्रतिक्रिया दिनुहोस्