सिन्धुलीमा प्रहरीको सर्च अप्रेसन :‘विप्लव’ का सात कार्यकर्ता पक्राउ

सिन्धुली । प्रधानाध्यापकको अपहरणमा संलग्न थप सातजनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैजना सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्तवको नेकपामा आबद्ध रहेको खुलेको छ ।

उनीहरूलाई सदरमुकाम सिन्धुली ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेकाहरूको नामथर खुलाइएको छैन । 

सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले सिन्धुलीकै जिनाखु जङ्गलबाट उनीहरूलाई पक्राउ गरिएको बताए ।

“प्रहरीले सर्च अप्रेसन चलाएको थियो र अप्रेशनको क्रममा उनीहरू सिन्धुलीकै जिनाखु जङ्गलबाट पक्राउ परेका हुन्”, उनले भने, “पक्राउ परेका सबै पुरुष छन्, यसअघि सोही समूहका एक जना युवतीलाई पक्राउ गरिसकेका छौं ।”

पक्राउ परेका पुरुषहरूको साथबाट प्रहरीले बम बनाउने सकेट आठ थान र चार थान सुतली बम बरामद गरेको छ ।

जिल्लाको तीनपाटन गाउँपालिका-८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण भण्डारी अपहरणमा परेको खबरपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन टोली सर्च अप्रेसनमा जुटेका थिए ।

अप्रेसनमा सशस्त्र प्रहरीको प्रहरी निरीक्षक नेतृत्त्वको टोलीसँगै सिन्धुलीकै खुर्कोट र उदयपुरबाट पनि प्रहरी टोली सहभागी थिए।

सुरक्षाकर्मीको टोलीले अपहरणकारीलाई आइतबार दिउँसो नै घेरा हालेको थियो । तर, अबेर मात्रै उनीहरूलाई पक्राउ गरिएको हो । 

अपहरणमा परेका भण्डारीलाई प्रहरीले तीनपाटन-८ कै लायोगाउँको खानीपाखा जङ्गलबाट दुई दिनअघि सकुशल उद्धार गरेको थियो । सोही क्रममा प्रहरीले चन्द नेतृत्व समूहकी कार्यकर्ता २० वर्षीया प्रतिमा परियारलाई पक्राउ गरेको थियो ।
 
उनी सुनसरीको धरान उपमहानगरपालिका-६ सिमलचोककी हुन् । उनको साथबाट प्रहरीले दुई वटा सकेट बम र एउटा सुतली बम फेला पारेको थियो । उक्त बमहरू सदरमुकाम सिन्धुलीबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले हिजो दिउँसो निस्क्रिय पारेको छ ।

उनलाई गएराति १ बजे प्रहरी सदरमुकाम सिन्धुली ल्याइ पुर्‍याइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी खत्रीले बताए । उनका अनुसार आज बेलुकीसम्ममा पक्राउ परेका अन्य सातजनालाई पनि सिन्धुली ल्याइ पुर्‍याइने छ । 

“सर्च अप्रेसनमा रहेका हाम्रो टोलीले पछिल्लो पटक पक्राउ परेकाहरूलाई ल्याउँदै छन्”, उनले भने, “बाटोमा रहेकोले बेलुकीसम्म आइपुग्छन् अनि को-को पक्राउ परे भन्ने थाहा हुन्छ।”

यसैबीच, अपहरणमा परी उद्धार गरिएका प्रअ भण्डारी प्रहरी सम्पर्कमा पुगेका छन् । यसअघि आइतबार भने उनले प्रहरीमा जाहेरी दिन चाहेका थिएनन् । नचाहेपछि जिल्ला प्रहरी कार्यालयबाट मुद्दा फाँटको टोली हिजै तीनपाटन पुगेको थियो ।

प्रअ भण्डारी शनिबार बिहान १० बजेतिर विद्यालय परिसरबाट अहपरणमा परेका थिए । उनी विद्यालयमा छात्रावृत्ति वितरण गरिरहेको अवस्थामा नचिनेका ८ जनाको समूहबाट अपहरणमा परेका हुन् ।

प्रअ भण्डारी किन अपहरणमा परे भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपी, अपहरणमा पर्नुको खास कारण खुलेको छैन ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १४:४०

प्रतिक्रिया दिनुहोस्