सिन्धुली – पाँच दलीय सत्ता गठबन्धनले अझै पनि सिट बाँडफाँट टुंग्याएको छैन । तर आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागी कांग्रेस केन्द्रीय समितीले परिपत्र गरेअनुसार सबै जिल्लाका प्रदेश समिती तथा क्षेत्रीय समितीले सम्भाबित उम्मेदवारको नाम सिफारिसको प्रक्रिया लगभग टुंग्याइसकेको छ ।
नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमितीको शनिबार बसेको बैठकले जिल्लाको दुई निर्बाचन क्षेत्र र चार प्रदेशसभाको बैठकले निर्णय गरेर सिफारिस गरेको नाम जस्ताको त्यस्तै प्रदेश समिती र केन्द्रिय समितीमा पार्टिको राय संकलन सहित पठाएको छ ।
जिल्लाको क्षेत्रीय समिती र प्रदेश समितीले पठाएको सिफारिसलाई जस्ताको त्यस्तै प्रदेश र केन्द्रिय समितीमा पठाउने निर्णय जिल्लाले गरेपछी सिफारिस भएर आएका उम्मेदवारहरुबाट कस्ले टिकट पाउने भन्ने कौतुहलता आम नागरिकमा छाएको छ । प्रदेश तथा केन्द्रिय स्तरका आफु निकटका नेता तथा समुहमा उम्मेदवारका चर्चा परिचर्चा शुरु हुन थालेको छ ।
सामाजिक तथा राजनैतिक पहुचलाई आम जनतासामु जोड्न नेतृत्वले खेलेको भुमिकाको आधारमा केही सम्भावना बोकेका उम्मेदवारको नाम जिल्लामा एकभन्दा बढी क्षेत्र तथा प्रदेश समितीले सिफारिस गरेको पाइएको छ । जुन सिफारिस आम नागरिक तथा नेता कार्यकर्ताको रुचीमा पठाइएको हो ।
आम नेता कार्यकर्ताले टिकट ल्याउने सम्भाबित उम्मेदवारको नामलाई उच्चारण गर्दा सिन्धुली संसदिय निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) को प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा उच्चारण हुने र चर्चामा नछुट्ने नाम हो छेत्रबहादुर बम्जन । बम्जनको टिकट सम्भावना लाई लिएर काङ्ग्रेस वृत्तमा मात्रै नभइ अन्य दलमा पनि छलफल र चर्चा हुने गरेको पाइन्छ ।
पाँच दलिय गठबन्धनमा जिल्लाको दुई निर्वाचन क्षेत्र र चार प्रदेश कुन दलको भागमा पर्छ भन्ने एकिन छैन । तथापी सम्भाबित उम्मेदवारहरुको चर्चा हुँदा सिन्धुली संसदिय निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) र (ख) दुबैमा बम्जन बलियो प्रतिस्पर्धी हुन ।
यो अघिको २०७४ सालको निर्वाचनमा समेत बम्जन संसदिय निर्वाचन क्षेत्र नं. २ प्रदेश (ख) बाट प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । तत्कालिन समयमा बाम गठबन्धन हुँदैगर्दा पनि बम्जनले लोकप्रिय मत ल्याएर उपबिजेता बन्नु भएको हो । बाम एकताबाट नेकपा माओबादी केन्द्रका उम्मेदवार बुद्धिमान माझीले १३७४९ मत प्राप्त गरि बिजयी हुनुभएको हो भने नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका बम्जनले ८५२३ मत प्राप्त गरि उपबिजेता बन्नुभएको हो ।
हाल महाधिवेशन प्रतिनिधिसमेत रहेका बम्जन राजनीति बाहेक विभिन्न सामाजिक संस्थामार्फत सामाजिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिराख्नु भएको छ । बम्जनले भन्नुभयो, ‘म यो क्षेत्रमा करिब तीन दशकदेखि निरन्तर सक्रिय भएर काम गरिरहेको छु । सामजिक क्षेत्रमा निरन्तर काम गरिरहेको एउटा क्रियाशील ब्यक्ती राजनैतिक रुपमा सधैँ तयारी जस्तै हो ।’
सधै जनताको सुख दुखमा रहदै आएको छु । उहाँले भन्नुभयो मेरो मुख्य एजेन्डा सुसंस्कृत राजनीति हो । सफा नियत, स्पष्ट नीति र सुदृढ नेतृत्व जबसम्म हुन सक्दैन तबसम्म राजनीतिले सेवा दिन सक्दैन । राजनीतिले झुटा आश्वासन दिने मात्रै होइन । हाम्रोमा आफुले गरेका प्रतिबद्धता पूरा नगर्ने पद्धति छ । अबको राजनीति बोलेका कुराहरू पूरा गर्न सकिने हुनुपर्छ ।
यदि मैले टिकट पाएभने यहाँका जनतासँग जोडिएर समस्याहरूको पहिचान गरेर स्थानीय निकाय र संघसँग समन्वय गरेर काम गर्छु । स्थानीयको आवाजलाई प्रदेश संसदमा लगेर प्रस्तुत गर्ने काम गर्छु । पार्टीले आधिकारिक रूपमा घोषणापत्र जारी गर्नेछ ।
विगतमा चुनावपछि घोषणापत्र कार्यान्वयन नभएको अवस्था छ । कति भयो भएन भनेर लेखाजोखासमेत गरिँदैन । तर, म पार्टीले जारी गरेका घोषणापत्रका काम इमान्दारीपूर्वक पूरा गर्नेछु । जनताको माझमा गएर उहाँहरूका सामान्य समस्या बुझेर समाधान गर्ने प्रयत्न गर्नेछु ।
उहाँले अहिलेको निर्बाचन क्षेत्रको समस्या भनेको अव्यवस्थित बसाइ रहेको उल्लेख गर्नुभयो । यहाँको मुख्य समस्या ढल, वर्षाको पानीको निकास र बाटो हो । सडकको स्तरोन्नति गर्नुपर्ने छ । यहाँको सार्वजनिक विद्यालयका स्तरोन्नति गर्नुपर्ने छ । स्वास्थ्यलाई सुलभ बनाएर स्वास्थ्य केन्द्रहरूको सेवालाई विस्तार गर्नुपर्ने आवश्यकता छ ।
यस क्षेत्रलाई उत्पादनसँग जोड्न सकिएको छैन । यस हाम्रो क्षेत्र वरिपरि विभिन्न पर्यटकीय क्षेत्रहरू छन् । तिनलाई संरक्षण गर्न स्पष्ट नीति र योजना बनाएर कार्यान्वयन गर्नुपर्ने छ । स्थानीयलाई आर्थिक उपार्जन गर्न सक्ने बनाउनु छ । समस्याको निर्क्यौल गरि स्पष्ट कार्ययोजना बनार जनताको सेवा गर्ने आफ्नो उदेश्य रहेको बम्जनले बताउनुभयो । बम्जन सिन्धुली संसदिय निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) र (ख) दुबैमा प्रदेश सभा सदस्यका लागी सिफारिस भएका छन ।