सिन्धुली – प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९ औँ जन्मजयन्ती नेपाली कांग्रेस सिन्धुलीले विभिन्न कार्यक्रम गरी आज मनाएको छ ।
जन्मजयन्तीको अबसरमा नेपाली कांग्रेस प्रदेश कार्यसमिती क्षेत्र नम्बर १ (क) को आयोजनामा दुधौली नगरपालिका – १० मा बिपि जन्मजयन्ती तथा जनताको साथमा कांग्रेस अभियानको समापन गरिएको छ भने नेपाली कांग्रेस कमलामाइ नगर समितीको आयोजनामा कमलामाइ नगरपालिका -१३ ठुटेस्वर महादेब मन्दिर सुनखानी परिसरमा बृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा नगर सभापती कमल पोखरेलको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा रुद्राक्ष लगायतका ५० बिरुवा मन्दिर परिसरमा रोपिएको छ । कार्यक्रमको संचालन नगर सचिव निकेश ढकालले गर्नुभएको हो भने प्रदेश कार्यसमितीले दुधौली नगरपालिकाको कोगटिमा आयोजना गरिएको कार्यक्रममा बिपिले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै कार्यक्रमको समापन गरिएको हो ।

जनताको साथमा कांग्रेस अभियानको लागी केन्द्रीय समितिले जिल्लामा प्रतिनिधीको रुपमा पठाएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रीनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बिपि जयन्तीको अबसरमा आयोजित जनताको साथमा कांग्रेस अभियानको समापन तथा बृक्षारोपण कार्यक्रममा केन्द्रिय प्रतिनिधि तथा केन्द्रीय सदस्य दिलमान पाख्रीन, सिन्धुली कांग्रेसका पुर्बजिल्ला सभापती अर्जुन बराल, मोहनप्रसाद बराल, निबर्तमान सभापती उज्ज्वल प्रसाद बराल जिल्ला सभापती उपेन्द्रकुमार पोखरेल लगायतले आफ्नो धारणा ब्यक्त गरेका थिए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय बने । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो ।
क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रित्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्वपूर्ण कार्यक्रम घोषणा गरेका थिए ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।
क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएका थिए ।
प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको संकलन गरी दर्शनीय बनाइएको संग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ ।
संग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, कांग्रेसले विसं २०२९ जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।









