सुनको बिस्कुट भन्दै ठगी गर्ने सिन्धुलीका घिसिङ पक्राउ

सिन्धुली – नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन भनेर ठगी गर्ने सिन्धुली दुधौली नगरपालिका -१२ (साबिक जिनाखु गाबिस) का ३९ बर्षिय बिरबहादुर घिसिङ पक्राउ परेका छन ।

चितवनको नारायणगढ र भरतपुर बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन भनी ठगी गर्दैगर्दा घिसिङलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरूले लगाएको सक्कली सुनका गरगहनाहरू झुक्याई लाने गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाहरूले गरेको गुनासोका आधारमा भदौ ३१ गते दिउँसो करिब साढे ११ बजेको समयमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकमसहित प्रहरीले पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

चितवन जिल्ला अदालतबाट आइतबार ठगी उद्योग कसुरमा म्याद अनुमति लिएर घिसिङमाथि थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ११:२९

प्रतिक्रिया दिनुहोस्