अपहरणमा संलग्न ‘विप्लव’का आठ कार्यकर्ताको नाम सार्वजनिक

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको पार्टीमा आबद्ध आठ जनाको नाम सार्वजनिक गरेको छ।

प्रहरीले ३० वर्षीय लोकबहादुर तामाङ ‘रञ्जन’, ४९ वर्षीय रुद्रबहादुर राउत, १९ वर्षीय सुशान्त राई ‘सुन्दर’, १९ वर्षीय विवेक थापा ‘डिक्पाल’ र २५ वर्षीय दलबहादुर खत्री ‘कल्याण’ लाई सोमबार राति सार्वजनिक गरेको हो।

उनीहरूसँगै पक्राउ गरेका २१ वर्षीय धनबहादुर श्रेष्ठ ‘परिवर्तन’, २४ वर्षीय पूर्ण शेर्पा ‘चट्टान’ र २० वर्षीया प्रतिमा परियार ‘शीखा’ लाई पनि प्रहरीले सार्वजनिक गरेको छ।

शीखा बाहेककालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र खुर्कोटबाट खटिएको प्रहरीको संयुक्त टोलीले तील्पुङकै लायगाउँस्थित चौतारामा पक्राउ गरेको सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

खत्रीका अनुसार शीखालाई प्रहरीले शनिबार दिउँसो करिब १ः४५ बजे पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका सात जनाबाट बम बनाउन प्रयोग गरिने मेटल सकेट ८ थान, सुतली बम चार थान, रसिद पत्र, मोबाइल १३ थान, झोला ७ थान र दुई थान डायरी बरामद गरेको छ।

शीखाबाट पनि प्रहरीले बम बनाउने प्रयोग गरिने मेटल सकेट दुई थान, सुतली बम एक थान, झोला एक थान र मोबाइल एक थान बरामद गरेको थियो।

बरामद गरिएका बमहरूको सदरमुकाम सिन्धुलीबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार नै निस्क्रिय पारेको छ।

पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले अपहरण सम्बन्धी मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।

अपहरणमा संलग्न अन्यको खोजी भइरहेको प्रवक्ता खत्रीले बताए। “प्रअ भण्डारीलाई पक्राउ गर्न १५ जनाको समूह आएको भनिएको छ, हामीले आठ जनालाई पक्राउ गर्‍यौं”, उनले अंकपत्रसँग भने, “बाँकी सात जना फरार रहेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ।”

विप्लवका कार्यकर्ताबाट अपहरणमा परेका भण्डारी जिल्लाको तीनपाटन गाउँपालिका वडा नम्बर–८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०८:३२

प्रतिक्रिया दिनुहोस्