संविधान विरोधी तत्वलाई पराजित गर्न गठबन्धनले जित्नुपर्छ

सिन्धुली – प्रमुख राजनीतिक दलले सिन्धुली जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । 

सिन्धुली जिल्लामा प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेश सभातर्फ ४ निर्वाचन क्षेत्र छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनले आ-आफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् ।
 
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा चुनाबी बैठक सुरु गरेका छन् । प्रतिनिधि सभातर्फ सिन्धुली क्षेत्र नं २ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनाबी बैठक तथा घरदैलो कार्यक्रम निरन्तर भइरहेको प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखनाथ दाहाल (राजन) ले बताउनुभयो ।
 
सत्तारुढ गठबन्धनका उम्मेदवारको बैठक तथा निर्वाचन क्षेत्र केन्द्रित घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) सँग आबद्ध नेता तथा कार्यकर्ताले संविधानको रक्षाका खातिर भएको गठबन्धनले नै देश र जनताको हित गर्ने धारणा राखेका छन ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट सत्तारुढ गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्रबहादुर बम्जनले लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि पनि गठबन्धन नै सही भएको र नेपाली जनताले विजयी गराउने बताउनुभयो ।

कार्यक्रममा उम्मेदवार बम्जनले मुलुकलाई संविधानसम्मत बाटोमा हिँडाउने काम वर्तमान सत्तारुढ गठबन्धनले गरेको बताउनुभयो । उहाँले संविधान विरोधी तत्वलाई पराजित गर्नका लागि पनि वाम लोकतान्त्रिक गठबन्धनको विजय जरुरी रहेको धारणा राख्नुभयो ।
 
सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल प्रतिनिधि सभातर्फ उम्मेदवार हुन् भने प्रदेशसभातर्फ नेपाली काङ्ग्रेसका छेत्रबहादुर बम्जन प्रदेश सभा (क) बाट र
माओबादी केन्द्रबाट गङ्गानारायन श्रेष्ठ प्रदेश सभा (ख) बाट उम्मेदवार हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १५:३०

प्रतिक्रिया दिनुहोस्