सिन्धुलीमा एमाले भन्दा गठबन्धन दल ३० हजार ११४ मतले अघि

सिन्धुली – सिन्धुलीमा चुनाबी सरगर्मी बढिरहेको बेला गएको स्थानिय तहमा विभिन्न दलले प्राप्त गरेको मतलाइ आधार बनाएर विभिन्न अड्कलबाजी हुने गरेको देखिन्छ ।

खासगरी नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादीले गएको स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणाम अनुसार नेकपा एमाले भन्दा सयुक्त गठबन्धन तर्फको मत ३० हजार ११४ मतले बढी छ ।

दुई वटा क्षेत्र रहेको सिन्धुली क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका श्याम कुमार घिमिरे र विपक्षी गठबन्धनको तर्फबाट एमालेका प्रदीप कटुवाल चुनावी प्रतिस्पर्धामा छन् । 

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणाम अनुसार उक्त निर्वाचन क्षेत्रमा कांग्रेसको मत २८ हजार १७ रहेको छ भने माओवादी केन्द्रको मत १३ हजार ३६९ रहेको छ । यस क्षेत्रमा एकीकृत समाजवादीको मत १ सय ८७ रहेको छ । यता, एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत २८ हजार ६२० रहेको छ । 

उक्त मतको आधारमा गठबन्धन तर्फको मत ४१ हजार ५७३ रहेको छ भने एमालेको मत २८ हजार ६२० मात्रै छ । यस क्षेत्रमा कांग्रेस र एमालेको मत हाराहारी रहेको भएपनी सत्ता गठबन्धनको साथ पाउँदा कांग्रेसका उम्मेदवार घिमिरेलाई स्थिति सहज देखिएको छ । 

त्यस्तै सिन्धुलीको अर्को निर्वाचन क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनले माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) लाई उठाएको छ । उनले एमालेका मनोजजंग थापासँग प्रतिस्पर्धा गर्नेछन् । 

सत्ता गठबन्धनको कारण दाहाल यस क्षेत्रमा सुरक्षित देखिन्छन् । यस क्षेत्रमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा एमालेको मत २१ हजार ४५५ रहेको छ । त्यस्तै, माओवादी केन्द्रको मत १९ हजार ४ सय ८८ छ भने कांग्रेसको मत १९ हजार १ सय २८ रहेको छ ।

उक्त मतको आधारमा गठबन्धन तर्फको मत ३८ हजार ६१६ रहेको छ भने एमालेको मत २१ हजार ४५५ मात्रै रहेको छ । सिन्धुली क्षेत्र नम्बर १ (क) बाट भने प्रदेशसभामा सत्ता गठबन्धनले माओवादीका मातृका भट्टराईलाई उठाएको छ भने एमालेका सुवास देवकोटा गठबन्धन बिपक्षीबाट प्रतिस्पर्धामा रहेका छन । 

यस्तै १ (ख) बाट प्रदेशसभामा सत्ता गठबन्धनबाट कांग्रेसका रामकुमार पहाडीले एमालेका रामकुमार कार्कीसँग प्रतिस्पर्धा गर्नेछन । यता, क्षेत्र नम्बर २ (क) बाट  प्रदेशसभामा सत्ता गठबन्धनले कांग्रेसका छेत्रबहादुर बम्जनले उम्मेदवारको रुपमा उभ्याएको छ भने एमालेबाट विनोद खड्का प्रतिस्पर्धामा छन ।

उक्त निर्वाचन क्षेत्रको (ख) बाट भने प्रदेशसभामा सत्ता गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठले एमालेका रामकुमार पौडेलसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार ०१:०६

प्रतिक्रिया दिनुहोस्