जनयुद्धमा तीन छोरा गुमाएकी सिता जनयुद्ध दिवसकै दिन अस्ताइन


सिन्धुली– माओवादी जनयूद्धमा तीन छोरा गुमाएकी सुनकोसी गाउँपालिका ५ नाङ्गेडाडाकी ८३ वर्षीय सिता दाहालको जनयूद्ध दिवसकै दिन सोमबार बिहान निधन भएको छ । जनयूद्ध शुरु भएपछि सिताका छोराहरु मीनकुमार, पवन र देवीप्रसाद राज्यद्धारा मारिएका थिए ।

तीनछोरा र तीनछोरीकी आमा सिताका छोराहरु यूद्धमोर्चामा रहेकै बखत मारिएका हुन् । स्थानीय संचारकर्मी मिनकुमार दाहालका अनुसार जेठो छोरा वीरगंज, माइलो मरिण गाउँपालिका र कान्छो गाउँमै मारिएका थिए ।

यूद्धमा लडाकु बनेका तीनवटा छोरा नै गुमाएकी आमा सिताको जनयूद्धको शंखघोष भएको दिन फागुन १ गते नै देहत्याग हुनु संयोग भएको पत्रकार दाहालको भनाइ छ । कान्छी छोरी ममतासंग वस्दै आएकी सिता निधनले जनयूद्धको आदर्श आमा गुमाएको भन्दै वाग्मती प्रदेसका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।

वडा नं ५ नाङ्गेडाडाका १७ जनाले जनयूद्धका क्रममा ज्यान गुमाएका थिए । यसैबीच जनयूद्ध दिवसको अवसर पारेर मरिण गाउँ पालिकाले यूद्धकाक्रममा मारिएका र वेपत्ता भएका ६५ परिवारलाइ सोमबार २० हजारका दरले नगद सहित सम्मान गरेको छ ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सहिद तथा वेपत्ता परिवारलाइ सम्मान गर्दै जनयूद्ध सकिएपनि आर्थिक समृद्धिको यूद्ध बाकी रहेको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १३:०८

प्रतिक्रिया दिनुहोस्