७३ औं प्रजातन्त्र दिवसको अबसरमा बृक्षरोपण

सिन्धुली – १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७३ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अबसरमा सिन्धुलीको कमलामाइ नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसरमा फुल्ने फुलहरुको बृक्षरोपन गरिएको छ ।

नौ फरक प्रजातीका बृक्षहरु सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा (क) का माननीय छेत्रबहादुर बम्जनको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी प्रमुख राजकुमार सिलवाल लगायतको बिशेष उपस्थितिमा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा रोपिएको हो ।

जसरी फुलेको फुलहरुले शुगन्ध र प्राकृतिक मनोरमता दिन्छ त्यसैगरी देशले प्राप्त गरेको प्रजातान्त्रिक ब्यबस्थाले आम नेपाली लाई सुवास प्रदान गर्ने लक्ष सहित बृक्षरोपणको आयोजना गरिएको नगरप्रमुख पोखरेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथी सांसद छेत्रबहादुर बम्जनले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताउदै प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले दिएको बलिदानी नेपाली इतिहासमा सधै अमर रहने बताए ।

जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । 

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको कार्यक्रम समापन गर्दै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले स्मरण गरे । 

जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको हो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्र दिवशको अबसरमा आयोजित बृक्षरोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला समन्वय समिती सिन्धुलीकि उप-संयोजक शान्ता कार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार ०४:१७

प्रतिक्रिया दिनुहोस्