राष्ट्रपति कांग्रेसले जसरी पनि लिन्छ: डा. शेखर कोइराला


सिन्धुली — नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार रहने र कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभएको छ ।

सिन्धुलीमाडीमा आयोजित नेपाली कांग्रेस प्रदेश २ (१) ले सोमबारबाट आयोजना गरेको सहिद सम्मान तथा दुई दिने प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्नेमा आफू नरहेको तर जसरि पनि रास्ट्रपति कांग्रेसले लिने उहाँको ठोकुवा छ ।

‘राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने होइन । चुनावमा गएर लिने हो र जितेर देखाउने हो,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको उम्मेदवार हुन्छ र जित्छ । यसमा म ढुक्क छु ।

नेता कोइरालाले गाउँ र जिल्ला तहमा भएको गुटगत राजनीतिले कांग्रेसलाई कमजोर बनाउदै लगेको प्रती चिन्ता व्यक्त गर्नुभयो । ‘शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । हामीमा केही कुरा चित्त नबुझे खुलस्त भन्छौं । हामीमा समस्या छैन । हामी मिलेकै छौं । तर तल्लो निकायमा यो यसको मान्छे, यो त्यसको मान्छे, यस्तो पनि कहिँ हुन्छ ? के म कांग्रेस होइन् ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।

यस्तै खुलस्त कुरा पार्टीभित्र राख्न छाडेर फरक दलहरुसँग सहकार्य गर्दै हिँड्नु घातक हुने नेता कोइरालाको टिप्पणी थियो । कांग्रेस नेता डा. कोईरालाको प्रमुख आतिथ्यतामा मंगलबार उद्घाटन गरिएको सहिद सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न हुनेछ ।

दुई दिने प्रशिक्षण कार्यक्रममा अर्थसास्त्री डा. स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, कांग्रेस नेता प्रकाश स्नेही लगायतले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

सहिद सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेस भएर आफ्ना सन्तान गुमाएका २४ सहिद परिवारलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । मरिण गाउँपालिका ७ का गोरेबहादुर श्रेष्ठ अहिले उमेरले ९२ बर्ष पुग्नुभयो । २०८७ साल असोज ४ गते जन्मिनुभएका श्रेष्ठलाई २०५४ साल पौष १९ गते तत्कालिन बिद्रोही पक्षले चौतारोमा बाधी खुट्टा छियाछिया बनाएर घाइते अबस्थामा छोडिदियो ।

घाइते हुनुभएको श्रेष्ठलाई समेत उक्त कार्यक्रममा दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । सहिद स्व.बशिष्ट कोईरालाका धर्मपत्नी उर्मिला कोईराला, स्व. बाबुराम बरालका परिवार लगायत २५ जनालाई सम्मान गरिएको कार्यक्रमका अध्यक्ष तथा नेपाली कांग्रेस प्रदेश २ (१) का सभापती बिजय कुवरले बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा माओबादी केन्द्र सुनकोशी वडा कमिटी -६ का अध्यक्ष दामोदर उप्रेती नेतृत्वको १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नवप्रबेशी उप्रेतीले आफू किन माओवादी छोडेर कांग्रेस रोजेको भन्ने प्रश्नको जवाफ दिदै जुन घरमा धेरै कलह हुन्छ त्यो घर र परिवारलाई दशा लाग्ने उक्ति टिप्पणी गर्नुभयो ।

जुन घरको गार्जेनले आफ्ना परिवार जुन बास्तबिक हुन उनलाइ निरुत्साहित र जो अबास्तबिक हुन तिनलाइ प्रोत्साहन गर्छ त्यो घरमा सत्यको बास हुन नसक्ने भन्दै आफुहरु नेपाली कांग्रेसको छहारिमा समाहित हुन आइपुगेको बताउनुभयो ।

नवप्रबेशी उप्रेती लगायत सम्पुर्णलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले स्वागत गर्नुभएको हो । मंगलबार सम्पन्न हुने प्रशिक्षणमा जिल्लाका ७९ वडाकै प्रतिनिधीत्वको हिसावले अगुवा कार्यकर्ता तथा नेताको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार २३:३५

प्रतिक्रिया दिनुहोस्