विप्लप समूह: ८ ब्यक्तिको चौबीस नाम, प्रहरिलाइ नाम प्रमाणिकरणमै सकस

सिन्धुली । प्रधानाध्यापकको अपहरण आरोपमा विप्लव समूहका आठजना कार्यकर्ता पक्राउ परे । प्रहरीले अनुसन्धान पनि अघि बढायो । 

तर, उनीहरूले भिन्न–भिन्न नाम बताएपछि प्रहरीलाई नाम प्रमाणीकरणमा भने सकस परेको छ । 

पक्राउ परेका विप्लवका एकजना कार्यकर्ताले कम्तीमा तीनवटा नाम प्रहरीलाई भनेका छन् । व्यक्तिलाई चिन्ने अथवा पहिचान गर्ने आधार नै नाम हो। 

तर, नाम अनेक भनिएपछि के नामका कार्यकर्तालाई पक्राउ गरियो भन्ने प्रमाणीकरण गर्न सिन्धुली प्रहरीलाई सकस परेको हो।

सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलले भनिन्, “एकैजनाले ३/४ वटा नाम भनेका छन्, अहिले नै यो–यो नामका पक्राउ परेको निश्चित गर्न सकिएन। फरक–फरक नाम भनेकाले हामीले प्रमाणीकरण गर्नुपर्ने भयो।”

प्रतिबन्धमा परेर भूमिगत गतिविधि गर्ने राजनीतिक पार्टी वा समूहमा आबद्ध भएका नेता तथा कार्यकर्ताहरूले विगतदेखि नै सांकेतिक नाम राख्ने गरेका छन्। जुन नामको आधारमा सोही पार्टीमा आबद्ध भएकाहरूले चिन्ने गर्दछन्।

प्रहरीले सार्वजनिक गरेको विप्लव समूहका कार्यकर्ताको नाम र उमेर यस्तो छः ३० वर्षीय लोकबहादुर तामाङ ‘रञ्जन’, ४९ वर्षीय रुद्रबहादुर राउत, १९ वर्षीय सुशान्त राई ‘सुन्दर’, १९ वर्षीय विवेक थापा ‘डिक्पाल’ र २५ वर्षीय दलबहादुर खत्री ‘कल्याण’, २१ वर्षीय धनबहादुर श्रेष्ठ ‘परिवर्तन’, २४ वर्षीय पूर्ण शेर्पा ‘चट्टान’ र २० वर्षीया प्रतिमा परियार ‘शीखा’।

एसपी सिग्देलले एक्लाएक्लै राखेर सोध्दै नाम प्रमाणीकरणका लागि ‘क्रस चेक’ गरिने बताइन्।

सिन्धुली प्रहरीले जिल्लाकै तीनपाटन गाउँपालिका वडा नम्बर–८ को चौताराबाट उनीहरूलाई पक्राउ गरेको हो। 

सोही वडाको तिल्पुङडाँडामा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार बम बनाउन प्रयोग गरिने मेटल सकेट १० थान, सुतली बम पाँच थान, रसिद पत्र, मोबाइल १३ थान, झोला सात थान र दुई थान डायरी प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले अपहरणसम्बन्धी मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालेको छ। 

प्रअ भण्डारी शनिबार बिहान ९ बजेतिर विद्यालय परिसरबाट अहपरणमा परेका हुन्। 

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:३३

प्रतिक्रिया दिनुहोस्