सिन्धुली अस्पतालमा नि:शुल्क मृगौला डाइलासिस सेवा शुरु

सिन्धुली – सिन्धुली अस्पतालमा मंगलबार देखी मृगौलाको नि:शुल्क डाइलासिस सेवा शुरु भएको छ । अस्पतालले बागमती प्रदेश सरकारको प्राबिधिक सहयोगमा ६ वटा मेसिन (डाइलोजर) ल्याएर जिल्लामा पहिलो पटक डाईलासीस सेवा शुरु गरेको हो । 

कसैको हप्तामा दुई पटक र कसैको तीन पटक सम्म बिरामीको अवस्था हेरेर डाइलासिस गर्नु पर्ने हुन्छ । जिल्ला अस्पतालमै डाइलासिस सेवा हुँदा डाइलासिसका लागि काठमाण्डौ तथा जनकपुर जानुपर्ने बाध्यता हटेको र जिल्लामै डाइलासिस हुँदा आफूलाई निकै सहज भएको काठमाडौमा नियमित डाइलासिस गराईराख्नु भएका मृगौला पीडित सिन्धुली जिल्ला कमलामाइ नगरपालिका -४ ढकालगाउँका आदित्यकरणध्वज थापाले बताउनुभयो ।

दुबै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण नगरुन्जेल बिरामीलाई नियमित डाइलासिस गर्न अवाश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले आफूलाई मिल्ने मृगौला प्रत्यारोपण गर्ने भए पनि मृगौला प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डाइलासिस गर्नु पर्ने हुन्छ ।

अस्पतालले एकैपटक ६ जना मिर्गौलाका बिरामीलाई सेवा पुग्नेगरि डायलाइसिस सेवा सुरु गरेको हो । तर अहिले एउटा मेसिनमात्रै संचालन गरिएको अस्पतालले जनाएको छ । बागमती प्रदेश सरकारको करीब १ करोड २० लाख लागतमा उपकरण सहयोग पछि अस्पतालले नि:शुल्क रुपमा मिर्गौलाका बिरामीहरुलाई लक्षित गरी डाइलासिस सेवा सुरु गरेको अस्पताल बिकास समितीका अध्यक्ष शतिसचन्द्र ढकालले जानकारी दिनुभयो ।

अस्पताल मातहतमा जिल्लामा निर्माण गरिएको कोभिड अस्पताल भवन शिबनगरमा हालका लागी डाइलासिसको ६ बेड सहितको उपकरण जडान गरिएको छ । कमलामाइ नगरपालिका सिन्धुलीका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले हाल जिल्ला अस्पतालको भवन निर्माणाधिन अबस्थामा रहेकोले कोभिड अस्पतालमा रहेको उक्त भवनलाइ जिल्ला अस्पतालको स्वामित्वमा रहनेगरी नगरपालिकाले निर्णय गरेर सम्बन्धित निकायमा परिपत्र गरिएको र उक्त कोभिड भवनलाइ ट्रमा सेन्टरको रुपमा स्थापित गर्न खोजिएको बताउनुभयो ।

साताको २ देखि ४ पटकसम्म डाइलासिस गर्न काठमाडौ तथा जनकपुर जानुपर्ने जिल्लाका मिर्गौलाका बिरामीहरुले अब जिल्लामै त्यो पनि नि:शुल्क उपचार पाउने ब्यबस्था मिलाइएको र अस्पतालले गर्ने खर्चको लागी आफुले अन्य पालिकाहरु संग समेत समन्वय गरिरहेको प्रमुख पोखरेलले बताउनुभयो । जिल्लामा पहिलो पटक शुरु गरिएको डाइलासिस सेवाले जिल्लाका नियमित उपचार गराइरहेका बिरामीलाई राहत मिलेको र अन्य छिमेकी जिल्लाका मिर्गौलाका बिरामीलाई समेत यो सेवाले सहज भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १५:३३

प्रतिक्रिया दिनुहोस्