सिन्धुली — बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले बृहत सरसफाई सुरु गरिएको छ । प्रत्येक साताको शुक्रबार सरसफाई गरी राजमार्गलाई सफा र सुन्दर बनाउने बताइएको छ ।
पहिलो चरणमा कमलामाइ नगरपालिका ६ को शिवनगरदेखि शिखरटोल, शान्तिनगर, रातमाटा, राम्माडी, ढुंग्रेवास, टारी हुँदै हिरापानीसम्मको सडकमा रहेको फोहोर हटाइएको हो । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलका अनुसार दुईवटा टोली बनाएर चार किलोमिटर सडक सफाई गरिएको छ ।
कमलामाई नगरपालिका, वन डिभिजन र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको सरसफाई कार्यक्रममा राजमार्ग आवतजावत गर्ने भाडा तथा निजी सवारी साधनलाई रोकेर प्लास्टिकजन्य सामग्री र अन्य फोहोर जथाभावी नफ्याँक्न आग्रह गरिएको थियो । मित्रराष्ट्र जापान सरकारले अनुदान सहयोगमा निर्माण गरिदिएको राजमार्गलाई जथाभावी फोहोर फ्याँकेर कुरुप बनाउने छुट कसैलाई नभएको मेयर पोखरेलले बताए ।
प्लास्टिकजन्य सामग्री सवारी साधनबाट फाल्दा राजमार्गको नाला तथा पाखाभित्ता भरिएको भन्दै कमलामाइ नगरपालिका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले त्यसलाई रोक्नुपर्ने बताए । तीन निकाय मिलेर सरसफाई सुरु गरिए पनि यो दीर्घकालीन नहुने भन्दै यात्रु तथा आम मानिसमा फोहोर जथाभावी फाल्न हुन्ने भन्ने चेतना फैलाउनुपर्ने ढकालको भनाइ छ । बीपी राजमार्ग पर्यटकीय मार्ग पनि भएकाले यसलाई सफा र सुन्दर राख्न चेतना जगाउँदै जानुपर्ने प्रहरी प्रमुख एसपी राजकुमार सिलवालको भनाइ छ ।
ट्राफिक प्रहरी मार्फत सवारी साधनमा फोहोर राख्ने टोकरी अनिवार्य गर्दै लगिएको छ । चियाबारी, पिपलभन्ज्याङ, ढुग्रेभन्ज्याङ, सेल्फिडाँडा, सोलाभन्ज्याङ खनियाँखर्कसम्म कमलामाइ नगरपालिकाले र अन्य नगर तथा गाउँपालिकाको राजमार्ग क्षेत्रमा समन्वय गरी सरसफाई अभियानलाई प्रभावकारी बनाइँदै लगिने एसपी सिलवालले जानकारी दिए ।
प्लास्टिकका बोतल, पराग गुट्खा, सुर्तीजन्य पदार्थका खोल, खाद्य सामाग्रीका खोल, अन्य फोहोरले राजमार्ग प्रदूषित भएकाले सरसफाईमा संलग्नहरुले त्यस्तो कार्य गर्नेहरुलाई कारबाहीसमेत गर्न प्रहरीसँग माग गरेका छन् । महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलीखेलसम्म बीपी राजमार्गको लम्बाइ १६० किलोमिटर रहेको छ ।