नयाँ बर्षको पुर्व सन्ध्या: क्वालिटी बिचमा पाहुना अटाइ नअटाइ

सिन्धुली — नयाँ वर्षका पूर्व सन्ध्यामा सुनकोसी गाउँपालिका ५ मुलकोटका रिसोर्ट तथा होटलहरु भरिभराउ भएका छन् । नाम चलेका केही रिसोर्टमा होटल तथा कटेजमा कोठा नभएपछि दर्जनौं टेन्ट लगाइएको छ । ती टेन्टहरूसमेत भरिएका छन् ।

पछिल्लो ५ वर्षयताकै सबैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक मूलकोट भित्रिएका छन् । सुनकोसी नदी किनार र बीपी राजमार्गको बीचमा रहेको क्वालिटी बिच रिसोर्टमा ५२ वटा कोठा भरिएर १९ वटा टेन्ट लगाइएको छ ।

काठमाडौंबाट आएका ९५ प्रतिशत पाहुनाले होटल भरिएको रिसोर्टका प्रबन्धक राजेश श्रेष्ठले जानकारी दिए । महिना अघिदेखि नयाँ वर्षमा रमाउन कोठा बुक भएको उनको भनाइ थियो ।

मूलकोटमै रहेको ताज रिसोर्टको अवस्था पनि उस्तै छ, सबै कोठा भरिएर टेन्टको समेत व्यवस्था गरिएको छ । मूलकोटमा रहेका दुई दर्जनभन्दा बढी होटल सबै भरिएका छन् ।

नयाँ वर्षमा रमाइलो गर्नका लागि पाहुनाहरूले मूलकोट रोज्नुको कारण भने सुनकोसी नदीमा र्‍याफ्टिङ, बोटिङ, बीपी राजमार्ग किनारमा रहेको सेतीदेवी, सुनकोसी पारी रामेछापमा रहेको खाँडादेवी र कुशेश्वर मन्दिरको दर्शन, एकीकृत नमूना बस्तीलगायत रहेका छन् ।

मूलकोट विकास समितिका अध्यक्ष मनोज श्रेष्ठका अनुसार काठमाडौंबाट ९५ किलोमिटर दूरीमा रहेकाले मूलकोट तीन घण्टामै पुगिने भएकाले पनि यो ठाउँ पाहुनाको पहिलो रोजाइमा परेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १६:५२

प्रतिक्रिया दिनुहोस्