सिन्धुलीको चियाबारिमा आगलागी: पाँच घर जलेर नष्ट

सिन्धुली — सिन्धुलीको कमलामाइ नगरपालिका -२ चियाबारीमा सोमबार बिहान भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएका छन् । साथै लाखौंको धनमाल क्षति भएको पीडित परिवारले बताएका छन् ।

स्थानीय टंक थापाको घरबाट सुरु भएको आगलागीबाट पाँच घर जलेका हुन् । साथै नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति १ बजेबाट सुरु भएको आगलागीबाट टंक थापा, गंगा थापा र सीताराम थापाको घर जलेको हो ।

प्रहरीका अनुसार आगलागीमा परी नगद १० लाख नष्ट भएको छ भने गरगहना र पसलका सामान जलेका छन् । टंक थापाको घर भाडामा लिएर व्यापार चलाउँदै आएकी अम्बिका बुढाथोकीले पूजापाठ गर्न दियो बालेर छाडेका बेला त्यहीँबाट आगो सल्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आगलागीबाट लगाउने लुगा बाहेक सबै सामान जलेर नष्ट भएको पीडित बुढाथोकी बताइन् । आगलागीबाट सबैभन्दा बढी क्षति होटल व्यवसाय गर्ने सन्तोष थापाको भएको बताइएको छ ।

होटलको लागि स्टोर गरेको मदिरा तथा अन्य सरसामान पूरै जलेर नष्ट भएको थापाले बताए । ‘सालोको बिहेका लागि गरगहना तथा नगदसमेत राखेका थियौं,’ उनले भने, ‘केही झिक्न पाइएन । आगलागी नियन्त्रण गर्न सकिन्छ कि भनेर नजिकको ग्वाङखोलाबाट पानी ल्याएर हाल्न थालियो । घरभित्रको नगद तथा गरगहनासमेत सबै जल्यो ।’

आगलागी सुरु हुनासाथ खबर गरिएको कमलामाइ नगरपालिकाको दमकल डेढ घण्टा ढिलो पुगेकाले पनि आगो नियन्त्रणमा लिन नसकिएको स्थानीयको गुनासो छ । यो आर्थिक वर्षमा जिल्लाभरमा आगलागीबाट १९ घरगोठ जल्नुका साथै एक जनाको ज्यान भएको प्रहरीको तथ्यांक छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०४:३३

प्रतिक्रिया दिनुहोस्