सिन्धुली पोलिक्लिनिक र लक्ष्मी फार्मेसी शिलबन्धी

सिन्धुली – बजार अनुगमन टोलीले अबैध रूपमा सञ्चालित औषधी पसल र पोलिक्लिनिक शिल गरेको छ । बुधबार सिन्धुलीमाढी बजारमा सञ्चालित औषधी पसल तथा पोलिक्लिनिकहरूको अनुगमनको क्रममा कनपा–६ मा सञ्चालित सिन्धुली पोलिक्लिनक प्रा.लि. र अस्पताल रोडमा रहेको लक्ष्मी फार्मेशीले आबश्यक प्रक्रिया पूरा नगरि सञ्चालन गरेको भेटिएपछि शिल गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा कमलामाई नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सिन्धुली अस्पताल, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, उद्योग बाणिज्य संघ सहितका प्रतिनिधीहरूको अनुगमन टोलिले अनुगमनको समयमा लक्ष्मी फार्मेसीको इजाजत पत्र प्राप्त ब्यक्ति नभेटिएकाले नेपाल सरकारबाट इजाजतपत्र प्राप्त ब्यक्ति उपस्थित नहुन्जेलसम्मका लागि फार्मेसीमा शिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । त्यस्तै सिन्धुली पोलिक्लिनिकको इजाजतपत्र नविकरण नभएको फेला परेकाले इजाजतपत्र नविकरण नगरेसम्म शिलबन्दी गरिने नेपालले बताउनु भयो ।

बुधवार कमलामाई नगरपालिकाका भित्र बजार, मधुटार, ढंग्रेबास र धुराबजारमा सन्चालनमा रहेका आयुर्बेदिक ३, पोलिक्लनिक ३, एलोपेथिक १३ गरी १९ वटा पसलहरुमा अनुगमन गरिएको थियो ।

अनुगनका क्रममा सरसफाईको बिशेष ध्यान दिन, डाक्टरको प्रेस्कृप्सनमा मात्र औषधि बितरण गर्न इजाजत प्रमाणपत्र सर्बसाधारणले देख्ने गरी टाँस्न, लागु तथा मनोद्धिपक औषधिको संचय गर्न, भण्डारण र बिक्रिलाई अझ ब्यबस्थित गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

औषधिको अवैध बिक्रीले प्रचलित कानुनको बर्खिलाप भई स्वास्थ्यमा नकारात्मक असर समेत पर्न सक्ने हुँदा यसतर्फ सम्बन्धित सबैले ध्यान दिन र औषधि दिने ब्यक्तिको ईजाजत नभएको औषधी पसलबाट औषधि नकिन्न तथा स्वास्थ्य जिवनका लागि औषधिको समुचित प्रयोग गर्न सर्वसाधारण लाई जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०३:०२

प्रतिक्रिया दिनुहोस्