सिन्धुलीमा निजी आवास पुनर्निर्माणमा ९ अर्ब ३८ करोड खर्च

सिन्धुली । सिन्धुलीमा निजी आवास पुनर्निर्माणका लागि ९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले बताएको छ ।

यस्तै निजी आवास, विद्यालय, सडक, गुम्बा लगायत संरचना निर्माणका लागि कुल १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रुपैयाँ खर्च भएको कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले बताए ।

निजी आवास पुनर्निर्माणतर्फका कुल लाभग्राहीको संख्या जिल्लामा ३८ हजार ६१६ रहेकोमा ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ ले तेस्रो किस्ता रकम निकासा लिएको विष्टले जानकारी दिए ।

प्रबलीकरणतर्फ १४ हजार ४४८ लाभग्राही रहेकोमा १२ हजार २७६ जनाले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिएको उनले बताए । कार्यालयका अनुसार प्रबलीकरणतर्फ अहिलेसम्म ६१ करोड ३८ लाख ८० हजार खर्च भएको छ ।

पूर्ण क्षति भएका लाभग्राहीले पुनर्निर्माणका लागि प्रतिपरिवार ३ लाख र प्रबलीकरण अर्थात् मर्मतसम्भार गर्दा हुने प्रतिपरिवारले १ लाख रुपैयाँ अनुदान पाउने व्यवस्था रहेको छ ।

यसैगरी जिल्लामा भूकम्पीय आपतकालीन सहायता आयोजना अन्तर्गत २९ किलोमिटर लम्बाइको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणका लागि ३८ करोड २९ लाख ८९ हजार रुपैयाँ खर्च निकासा भएको विष्टले बताए ।

सोही सडकअन्तर्गत सिम्ले खोलामा १ करोड ३२ लाख ३३ हजार  रुपैयाँ लागतमा पक्की पुल निर्माणको ठेक्का सम्पन्न भएर काम भइरहेको उनले जानकारी दिए ।

जिल्लामा भूकम्पबाट क्षति पुगेका १८ ओटा गुम्बामध्ये १२ ओेटाको निर्माण कार्य अघि बढेको उनले बताए । यसका लागि ६५ लाख १६ हजार निकासा भएको छ ।

४०६ ओटा विद्यालयको पुनर्निर्माण
भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सिन्धुलीमा हालसम्म ४०६ ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले बताएको छ ।

भूकम्पले भत्काएको र चर्काएको विद्यालयमा नयाँ पक्की भवन निर्माण गरिएको कार्यालयको भनाइ छ । जिल्लामा भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा अहिलेसम्म २ अर्ब ६६ करोड खर्च भइसकेको कार्यालय प्रमुख शिवकुमार सापकोटाले जानकारी दिए ।

पुनर्निर्माण भएका विद्यालयमध्ये २६ ओटामा एशियाली विकास बैंकको र ३७ ओटामा अन्य गैरसरकारी संस्थाको लगानी रहेको थियो । केही विद्यालयको पुनर्निर्माण नेपाल सरकारको लगानीमा समेत भएको सापकोटाले बताए ।

चालू आर्थीक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ५९ ओटा विद्यालयसँग सम्झौता गरिएको उनले जानकारी दिए । यी विद्यालय निर्माणका लागि करीब  ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १०:४२

प्रतिक्रिया दिनुहोस्