पानी माग्दै सिन्धुलीमा भ्यागुताको बिहे

सिन्धुली – लगातार दुई तीन साता यता सिन्धुलीमा पानी नपरेपछि किसानहरु निक्कै चिन्तित बनेका छन् । मकै, धान जस्ता अन्नबाली र बोटविरुवाहरु सुक्नुका साथै खोलाहरु पनि सुकेका छन् ।

लगातारको खडेरीले पानी नपर्नुका साथै दिनानुदिन अत्याधिक गर्मी बढेपछी सिन्धुलीको दुधौली नगरपालिका – ४ डकाहमा सोमबार स्थानियले धुमधामका साथ भगवानसँग पानी माग्दै भ्यागुताको बिहे गरिदिएका छन् । 

सोमबार २५–३० जनाको समूह भाँडाकुँडा र डोलीसहित कमला खोलातर्फ प्रस्थान गरे । मानिसहरूको भिड लाग्यो । केही समयपछि खोलामा जम्मा भएका मानिसहरू पूजाआजा गर्दै एकजोडी भ्यागुताको खोजीमा लागे ।

लामो समयदेखि खडेरी परेकाले अन्नबालीसमेत सुक्न थालेपछि भ्यागुतोको विवाह गरेमा पानी पर्छ भन्ने जनविश्वासका साथ भ्यागुतालाई सिँगारपटार गरी डोलीमा चढाइयो । ब्राह्मणहरूले वैदिकमन्त्र पाठ गरी रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिदिए । 

एकजोडी कुमार केटाले विवाहित भ्यागुतालाई डोलीमा राखी कमला खोलामा बगिरहेको पानीमा पुर्‍याए । त्यसपछि ब्राह्मणहरूले भ्यागुतोको जोडीलाई डोलीबाट उतारी पानीमा छोडिदिए । लामो समयसम्म पानी नपरेका कारण रुद्रीपूजा आयोजना गरी भ्यागुतोको विवाह गरिदिएको स्थानीय थानेश्वर काफ्लेले बताए ।

स्थानीयमा वैदिक मन्त्र पढी भ्यागुतोको जोडीको विवाह गरिदिएमा पानी पर्ने जनविश्वास रहेकाले करिब तीन–चार घन्टासम्म होमहोमादी गरी भ्यागुतोको जोडीको विवाह गरेको उनको भनाइ छ ।

यस्तो कार्यमा स्थानीयले स्वतस्फूर्त रूपमा रकम जम्मा गर्ने र महादेव, इन्द्रको पूजाआराधना गर्ने प्रचलन रहेको काफ्लेले बताए । भ्यागुतोको बिहेमा प्रसादबाहेक करिब एक हजार दुई सय रुपैयाँ खर्च लागेको उनको भनाइ छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार ०३:४२

प्रतिक्रिया दिनुहोस्