अवैध रुपमा भित्र्याइएको ७४ बोरा युरिया मल स्थानियको नियन्त्रणमा

सिन्धुली — सरकारी अनुदानको ७४ बोरा रासायनिक युरिया मल अवैध रुपमा भित्र्याएर बिक्री वितरणका लागि अर्को गाडीमा सार्दै गर्दा सुनकोसी गाउँपालिका ३ का स्थानीयले नियन्त्रणमा लिएर आ-आफ्नो घरमा लगेका छन् । 

सर्लाहीबाट वाग्मती प्रदेश ००३– ००१–ख १६०० नम्बरको मिनीट्रकमा एक सय बोरा युरिया मल अवैध रुपमा भित्र्याएर अर्को गाडीमा सार्दै गर्दा स्थानीयले मंगलबार बिहान नियन्त्रणमा लिएका थिए ।

अवैध मल आएको थाहा पाएर किसानले नियन्त्रणमा लिई ७४ बोरा लगेको वडा नं. ३ का अध्यक्ष चन्द्र श्रेष्ठले जनाए । ठूलो संख्यामा जम्मा भएका किसानले अनुदानको मल अवैध बिक्री वितरण हुन लागेको भन्दै एक-एक बोरा गर्दै लगेको उनको भनाइ थियो ।

सुनकोसी गाउँपालिकाकै रातमाटा प्रहरी चौकीमा २६ बोरा युरिया मल र मिनीट्रक रहेकोमा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय खुर्कोट ल्याइएको छ । नेपाली मल रोक्ने नगरेको भन्दै सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले नियन्त्रणमा लिएको ट्रकसहित मललाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालयमा पठाइने बताए ।

किसानले लगेको मलसमेत फिर्ता ल्याउन भनेको उनले जनाए । कृषि सामग्री कम्पनीका अनुसार अनुदानको मल युरिया प्रतिबोरा ८४७ रुपैयाँमा किसानले पाउँछन् । त्यहि अनुदानको मललाई अवैध कारोबार गर्नेले दुई हजार रुपैयाँ प्रतिबोरा लिएर बिक्री वितरण गर्दछन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार ०३:३०

प्रतिक्रिया दिनुहोस्