सिन्धुली । स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
फ्रेण्डस हेटौंडाको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा नागरिकता तथा पहिचानको मुद्दा, समान प्रतिनिधित्व र मतदाता अधिकार संग सम्बन्धीत मुद्धाका बिषय र बैबाहिक समानता लगायतका बिषयमा सरोकारवाला निकायसंग छलफल गरिएको छ ।
यौनिक तथा अल्पसंख्यक समूदायले आफनो पहिचान पाउन नसकिरहेको अवस्थामा नीतिगत तहबाटै यसलाई समाधान गर्न आफुहरु संगठित हिसाबले लागी परिरहेको अभिमुखीकरण कार्यक्रमकि सहजकर्ता सिम्रन श्रेष्ठले उल्लेख गर्नुभयो ।
यस्तै, कार्यक्रममा फ्रेण्डस् हेटौंडाकि कार्यक्रम संयोजक किरण थापाले यौनिक तथा अल्पसख्यंक समूदायका लागि सरकार सबैको साझा अभिभावक बन्नुपर्नेमा जोड दिनुभयो । अहिले पनि विभिन्न बाहानामा यौनिक तथा अल्पसख्यंक समूदायका समस्याहरु यथास्थितिमा रहेको बताउँदै मन्त्रालयहरुमा यौनिक तथा अल्पसंख्यक समूदायका मुद्धा हेर्न सक्ने व्यवस्था ल्याउनुपर्ने उहाँको भनाइ छ ।
फ्रेण्डस् हेटौंडाका अध्यक्ष भारती थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती सिन्धुलीका संयोजक कारसाङ्ग लामाले समलिङ्गी, तेस्रोलिङ्गी, यौनिक तथा अल्पसंख्यक समुदायको न्यायगत हक अधिकारको लागि स्थानिय तह बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
स्थानिय तहको क्षेत्राधिकार फराकिलो भएकोले स्थानिय तहबाटै यस्ता समुदायको माग सम्बोधन गर्नको लागी जिल्ला समन्वयले निर्बाह गर्नु पर्ने भुमिका र गर्नुपर्ने समन्वयको लागी संस्थागत रुपमा आफू तयार रहेको उहाँको भनाइ छ ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नेपालको संविधान २०७२ ले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई संवैधानिक अधिकार प्रदान गरिसकेको बताउनुभयो । संविधानको धारा १२ ले लैङ्गिक पहिचान अनुसारको नागरिकताको व्यवस्था गरेको छ भने धारा १८ ले विभेद गर्न नपाइने व्यवस्था गरेको छ ।
उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई महिला तथा पुरुषलाई सरह मानवीय व्यवहार र सम्मान गर्न जरूरी छ भन्ने कुरा समाजमा अझै बुझाउन नसकिएको साथै ‘ट्रान्सजेन्डर’ महिला तथा यौन र प्रजनन स्वास्थ्य र अधिकारका विषयमा समेत समुदायलाई प्रष्ट बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकार निकायका प्रमुख एबम प्रतिनिधि गैह्रसरकारी संस्थाका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।