अबकाश प्राप्त १२ स्वास्थ्य स्वयंसेविकालाइ गोलन्जोरद्वारा सम्मान

सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिका स्वास्थ्य शाखाले उमेर हदबन्दीका कारण अवकाश प्राप्त गरेका गोलन्जोर गाउँपालिका भित्रका १२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाइ सम्मान तथा बिदाइ गरेको छ ।

शाखाले बिहिबार एक कार्यक्रम आयोजना गरि ६० बर्ष पूरा गरेका स्वास्थ्य स्वसेविकाको भूमिकामा रहेर समाजको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याकंन गर्दै उनिहरुलाइ नगद सहित सम्मान गरेको हो ।

सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले महिला स्वास्थ्य स्वसेविका समुदायको पहिलो डाक्टर भएको बताउनु भयो । समुदायमा आपतकालीन अवस्थामा भइपरि आउने स्वास्थ्य सम्बन्धी सेवाहरुलाइ महिला स्वास्थ्य स्वसेविकाहरुले नै सहजीकरण गर्ने गरेको पनि उप-प्रमुख न्यौपानेले स्पष्ट पार्नु भयो ।

कार्यक्रमका सभापती तथा गाउँपालिकाका अध्यक्ष संकर बरालले महिला स्वास्थ्य स्वसेविकाहरुले समाजमा पुर्‍याएको योगदानको उच्च मुल्यांकन समेत गर्नु भयो । आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्‍याउने उद्देश्य अनुरुप नेपालमा स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सूत्रपात भएको उहाँको भनाइ छ ।

वडा-वडा समुदायका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषण लगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रबर्धन गर्ने, स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण र स्वास्थ्य सन्देश फैलाउनुका साथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउने लगाएतका थुप्रै कामहरु महिला स्वास्थ्य सेविकाले गर्दै आइरहेको प्रती उहाँले सम्पुर्ण स्वयंसेबिका प्रती सम्मान ब्यक्त गर्नुभयो ।

उमेर हदबन्दीका कारण अवकाश प्राप्त गरेका १२ स्वास्थ्य स्वयंसेबिकाहरुमा क्रमशः हाल गोलन्जोर गाउँपालिका -१ बाट मानकुमारी बराल र चोलाकुमारी थापा रहेका छन । गोलन्जोर -३ बाट साबित्रा कुमारी कार्की, सानुमाया सार्की र साबित्रा कार्की रहेका छन ।

त्यस्तै गोलन्जोर -५ बाट शिबकुमारी थापा र मिश्राकुमारी बुढाथोकी रहेका छन । गोलन्जोर -६ बाट पदमकुमारी कार्की र जानुकी श्रेष्ठ रहेका छन भने गोलन्जोर -७ बाट शान्ता श्रेष्ठ, सीता प्रधान र देवकी देबकोटा रहेका छन ।

अवकाश प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेबिकालाइ प्रदेश सरकार र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष कोषबाट जनही २२ हजार नगद, सम्मान-पत्र, दोशल्ला, करुवा, झोला, छाता लगायतको सामाग्रीले सम्मान गरिएको हो ।

अबकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेबिकाले आफुहरुले सेवा अबधीमा धेरै दु:ख गरेको तर आफुहरु अबकाश हुँदै गर्दाखेरी स्थानिय सरकार तथा संघ-प्रदेशले खासै मुल्यांकन नगरेको गुनासो गरेका छन । समुदायको स्वास्थ्य संग जोडिएका सबै उतार-चढाबमा स्वास्थ्य स्वयंसेबिका पुग्नुपर्ने र सेवा दिनुपर्ने तर यतिका दु:ख खेपेका स्वास्थ्य स्वयंसेबिकालाई सरकारले वास्ता नगरेको स्वयंसेबिकाहरुको आरोप छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १०:४५

प्रतिक्रिया दिनुहोस्