हाइ-मास्क-लाइट जडान पछि नगरपालिकाको बसपार्क क्षेत्र झिलिमिली

सिन्धुली – पछिल्ला दिनहरुमा सिन्धुलीको कमलामाइ नगरपालिका स्थित बसपार्क लगायत बजार क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । अहिले दिउँसोभन्दा रातिको दृश्य मनमोहक देखिन्छ ।

कमलामाइ नगरपालिकाले यस आ.व. २०७९/०८० बाट खर्च हुनेगरी नगरपालिका अगाडि बसपार्क क्षेत्र लगायत आसपास क्षेत्रमा रातको समयमा पनि उज्यालो हुने गरि हाइ मास्क लाइट जडान गरेको छ ।

उक्त हाइ मास्क लाइट जडान गरेपछी केही दिन अघिसम्म साँझको समयमा अन्धकार हुने बसपार्क क्षेत्र लगायत आसपास क्षेत्र अहिले रातको समयमा पनि उजेलिएका छन् ।

कमलामाइ नगरपालिकाले उक्त बत्ती जडान गरेपछी अहिले चोकबजार झलमल्ल भएका छन् । बत्ती जडान भएपछि रातको समयमा हुने आपराधिक क्रियाकलापमा समेत कमी आउने विश्वास नगरपालिकाले राखेको छ ।

यो संगै आउने आर्थिक बर्ष २०८०/०८१ मा नगरपालिका भित्रका मुख्य तीन चौकमा समेत उक्त हाइ मास्क लाइट जडान गर्ने लक्ष नगरपालिकाले राखेको छ । नगरपालिका क्षेत्र अन्तरगत भिमान बजारको मुख्य चौक, बुद्धनगर चौक र ढुङ्ग्रेबास चौकमा उक्त बत्ती जडान गर्ने लक्ष राखिएको कमलामाइ नगरपालिकाको वातावरण शाखाका प्रमुख सागरकुमार ढकालले बताउनुभयो ।

राजमार्ग भित्र पर्ने बजार क्षेत्रलाई प्राथमिकतामा राखेर मुख्य चोकहरूमा लाइट जडान गरिने योजना रहेको कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । मानिसको बढी आवतजावत वा भिडभाड हुने ठाउँ, बजारका ठुला चोकहरूलाई केन्द्रित गरि लाइट जडान गर्ने योजना रहेको उहाको भनाइ छ ।’

बजारमा राखिएका सिसी क्यामराहरूमा भिडियो कैद गर्नका लागि पनि हाई–मास लाइट उपयुक्त भएकाले सुरक्षालाई मध्यनजर गरी विशेष स्थान छनोट गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार ०९:४७

प्रतिक्रिया दिनुहोस्