सिन्धुलीमा बार्षिक २ लाख बढी जुनारका बिरुवा उत्पादन

सिन्धुली – गोलन्जोर गाँउपालिका -५ हिर्दिङ निवासी रमेश थापालाई यतिखेर आनो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याई नभ्याई छ । जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उहाँले सुनाउनु भयो ।

हरेक बर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ, ‘बिगत १० बर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनु भएका थापाले भन्नुभयो, यो बर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरे अझै १० हजार जति बिरुवा बिक्री गर्न बाँकी छ ।’

आफ्नो नर्सरीमा जुनारका अतिरिक्त कागती, एभोकाडो, खुर्पानेको पनि बिरुवा रहेको र सबै बिरुवा गरी ४० हजार जति बिक्री गरि सकेको उहाँले बताउनुभयो । अहिलेसम्म बिक्रि गरेको सबै बिरुवाबाट करिब २५ लाख रुपैयाँ आम्दानी लिई सकेको पनि उहाँले जानकारी दिनुभयो ।

नर्सरीधनी थापाका अनुसार उहाँसँग जुनारका बिरुवा उत्पादन गर्न तीनवटा प्लाष्टिकका घर (स्क्रिन हाउस) छन् । ती घरको ३० हजार बिरुवा उत्पादन गर्ने क्षमता रहेको छ । प्लाष्टिकको घर बाहिर खुल्ला बगैचामा पनि कागती, एभोकाडो र खुर्पानेको बिरुवा उत्पादन गर्नु भएको छ ।

प्लाष्टिकको घर भित्र उत्पादन भएको जुनारको बिरुवा प्रतिगोटा १२५ रुपैयाँ, स्क्रिन हाउस बाहिरको कागतीको एक बर्षको बिरुवा प्रतिगोटा २५ रुपैयाँ, दुई बर्षको ६० रुपैया र स्क्रिन हाउस भित्रको बिरुवा १५० रुपैयाँमा बिक्री हुदै आएको छ । आफुले उत्पादन गरेको बिरुवा स्थानीयस्तरमा र रामेछाप जिल्लामा खपत हुदै आएको नर्सरीधनी थापाको भनाई छ ।

थापा मात्रै होइन गोलन्जोर गाँउपालिका -४ माझकुभिण्डे निवासी पदमबहादुर ठाडाको पनि दिनचर्या जुनारको बिरुवा बिक्री गर्नमा बित्दै आएको छ । रोजगारीको खोजीमा लाखौं रुपैयाँ खर्चेर बिदेश जाने युवाका लागि जिल्लाको दुर्गम क्षेत्रमा बसेर पनि नर्सरी खेती गरी मनग्य आम्दानी लिएर उहाँ उदाहरणिय बन्नु भएको छ ।

नर्सरीधनी ठाडाले गाँउमै बसेर ३९ बर्षदेखि नर्सरी खेतीबाट बर्सेनि लाखौ रुपैयाँ आम्दानी लिदै आउनु भएको हो । २०३८ सालदेखि नर्सरी खेती गर्दै आउनु भएका जुनार कृषक ठाडाले असार महिनामा मात्रै जुनारका बिरुवा बिक्री गरी अढाई लाख रुपैयाँ आम्दानी लिई सकेको जानकारी दिनुभयो ।

आफ्नो सबै लगानी नै नर्सरीमा रहेकोले त्यसैको आम्दानीले घर खर्चदेखि छोराछोरी पढाउने लगायतको व्यवहार टरेको उहाँले सुनाउनुभयो । नर्सरीधनी ठाडाले १५ लाख रुपैयाँ लगानी गरी चार हजार बिरुवा उत्पादन गर्ने क्षमताको एउटा स्क्रिन हाउस पनि निर्माण गर्नु भएको छ ।

उहाँले स्क्रिन हाउस र बाहिर खुल्ला ठाँउमा पनि जुनार सहित सुन्तलाको पनि बिरुवा उत्पादन गर्दै आउनु भएको छ । गाँउकै किसान र सहकारीले आफुले उत्पादन गरेको बिरुवा किनेर लैजाने गरेको उहाँको भनाई छ । अब तीन हजार जति जुनारका बिरुवा बाँकी रहेको र बिरुवा लगाउने समय भदौसम्म रहेकोले सबै बिक्री हुने उहाँले आस गर्नु भएको छ ।

त्यसो त किसान ठाडाले नर्सरी सुरु गर्दा ०३८ सालमा बिरुवाको मुल्य प्रतिगोटा दुई रुपैयाँ थियो । समयको विकाससँगै अहिले भने मूल्य बृद्धि भई प्रतिगोटा १२५ रुपैयाँ पुगेको छ । बिरुवा कलमी र बिजु गरी दुई थरीको हुने गरेकोमा आफुले भने कलमी बिरुवा उत्पादन गरेको किसान ठाडाले बताउनुभयो ।

उहाँले भन्नुभयो, कलमी बिरुवाबाट उत्पादन छिट्टै लिन सकिने भएकोले किसान पनि कलमी बिरुवाप्रति नै आकर्षित हुन्छन् ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोनका अनुसार सिन्धुली जिल्लामा जुनारका बिरुवा उत्पादन गर्ने नर्सरी २३ वटा दर्ता भएका छन् । ती मध्ये १४ वटा नर्सरीले बिरुवा उत्पादन गर्दै आएका छन् ।

परियोजनाका कृषि प्राविधिक जहानबहादुर कार्कीका अनुसार किसानले हरेक बर्ष जुनारका बिरुवा रोप्न बैशाख महिनामा नै खाल्टो खनेर कम्पोष्ट मल हालेर तयार गर्दछन् । मनसुन सुरु भएपछि तयार गरेको खाल्टोमा जुनारका बिरुवा रोप्न किसानलाई भ्याई नभ्याई हुने गरेको छ । जिल्लामा बार्षिक रुपमा २५ देखि ३० हजार जुनारका बिरुवा बेच्न योग्य उत्पादन हुने तर दुई लाख भन्दा बढी उत्पादन हुदै आएको उहाँले जानकारी दिनुभयो ।

जुनारका बिरुवा उत्पादन गर्न सुपर जोनले किसानलाई स्क्रिन हाउस निर्माणमा अनुदान, आवश्यक सामग्री, बिरुवाको निःशुल्क पिसआर परिक्षण, प्राविधिक सेवा दिदै उहाँको प्राविधिक कार्कीको भनाई छ । सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् ।

यो बर्षसम्म करिब १४ हजार हेक्टर जमिनमा जुनार खेती भएको र त्यसमध्ये ७५० हेक्टरमा फलेको फलबाट छ हजार मेट्रिक्टन जुनार उत्पादन भएको थियो ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार ०६:३७

प्रतिक्रिया दिनुहोस्