सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सिन्धुली – जिल्लालाई आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक तथा जिल्ला खोप समन्वय समितिका संयोजक कारसाङ लामाको अध्यक्षतामा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

खोप समन्वय समितिका संयोजक लामा र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मुख्य मन्त्री जमरकट्टेलसामु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रस्ताव पेश गर्नुभएको थियो । 

जिल्लाका ९ वटै पालिकामा लक्षित उमेर समुहका (१६ महिनादेखि ५९ महिनासम्मका) १४ हजार ३९२ जना बालबालिकालाई प्राणघातक रोगबाट बचाउन राष्ट्रिय खोप तालिका अनुसार १३ प्रकारका खोपहरु लगाई सकिएकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै मुख्यमन्त्री जमरकट्टेलले पालिकाहरूले स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेर पाँच वर्षमा पाँचवटा मुख्य योजना सम्पन्न गर्ने लक्ष्य लिए दिगो विकास गर्न सकिने बताउनुभयो ।

उहाँले, ‘राष्ट्रिय योजना आयोगले पञ्चवर्षीय योजना बनाउँछ, प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गर्दै छ, अब ठुल्ठुला योजनाका किताबहरू मात्र प्रकाशित गर्ने हैन काम गर्न सक्ने योजना बनाउनु पर्छ, ‘उहाँले सुझाब दिनुभयो ।

प्रदेश सरकारले सरकारका मन्त्री,कार्यालय प्रमुखहरूका टेबलमा आवश्यकताका आधारमा कार्यान्वयन गर्न सकिने मात्र योजना राखिने बताउँदै  मुख्यमन्त्री जम्कट्टेलले काम नहुने कुनै पनि योजना तर्जुमा नगरिने स्पष्ट पार्नुभयो ।

स्थानीय श्रोत उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजित घोषणा कार्यक्रममा स्थानीय तहको वार्षिक कार्यक्रममा समावेश गरि हरेक वर्ष सबै बालबालिकाहरुले पूर्ण खोप पाएका सुनिश्चितता गर्ने प्रतिवद्धता समेत जनाइएको छ । 

जिल्लाका ९ वटै पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लगायत सम्बन्धित सरोकारवालाहरुले जिल्लाका सबै बालबालिका हरुलाई प्राणघातक रोगहरुबाट बचाउन राष्ट्रिय खोप तालिका अनुसार सबै खोपहरु समयमै पुरा गराउने छौँ तथा खोप सेवाबाट बालबालिकालाई बन्चित हुन दिने छैनौँ भन्ने प्रतिवद्धता सहित हस्ताक्षर संकलन समेत गरिएको छ । 

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १७:३६

प्रतिक्रिया दिनुहोस्