सिन्धुली कांग्रेसले विविध कार्यक्रम गरि बीपी स्मृति दिवस मनाउदै

सिन्धुली – प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४१ औं स्मृति दिवस बिबिध कार्यक्रमको आयोजनामा सिन्धुली कांग्रेसले आज मनाउदैछ ।

नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा महासमिती सदस्य बिपिन कोईरालाको प्रमुख आतिथ्यतामा सनिबार बिहान पार्टी कार्यालयमा बिपि स्मृती सभाको आयोजना गरिएको छ ।

साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् । कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस सिन्धुलीले आज उनको सम्झनामा विविध कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल तरुण दल सिन्धुलीको आयोजनामा वीपी कोइरालाको ४१ औं स्मृति दिवसको अबसरमा जिल्ला अस्पताल सिन्धुलीमा रहेका बिरामीलाई फलफुल बितरण गरिएको छ ।

त्यस्तै स्मृति दिवसकै अबसर पारेर नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा (क) को आयोजनामा साझ लोकतान्त्रिक चौक सिन्धुलीमाढीमा दिप प्रज्वलनको कार्यक्रम आयोजना गरिएको छ भने नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ प्रदेश सभा (क) को आयोजनामा गोलन्जोरको ग्वाल्टारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पार्टी सचिव इस्वर कुमार बस्नेतले जानकारी दिए ।

विसं २०३९ साउन ६ गते बिपि कोइरालाको निधन भएको थियो । उनको योगदानको स्मरणमा कांग्रेस सिन्धुलीले प्रत्यक बर्ष आजका दिन वीपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ ।

स्मृति सभामा नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको मुलुकका लागी गरेको योगदानको स्मृति गरिएको छ । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
 
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । 

वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरी सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । 

ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए । 
 
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याउन योगदान दिए । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो ।

बिपीको जीवनका महत्त्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । 

सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भातृ संस्थाले जिल्ला भर विभिन्न कार्यक्रम गर्ने पार्टी सचिव इस्वर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ०४:४८

प्रतिक्रिया दिनुहोस्