जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गोलन्जोर गाउँपालिका -५ नयाँखर्कका नबराज थापालाई जिल्ला प्रशासन कार्यालयबाट बितरण हुने पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

२०७७ सालमा राष्ट्रिय परिचयपत्रको लागी आबेदन दिएकाहरु मध्ये नबराज थापालाई पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ भने कमलामाइ नगरपालिका – ६ का नेत्रबिक्रम थापालाई दोश्रो राष्ट्रिय परिचयपत्र प्रमुख जिल्ला अधिकारी नेपालले बितरण गर्नुभएको हो ।

राष्ट्रिय परिचय पत्र बितरण शाखाका प्राबिधिक शाखा प्रमुख मिथिला बिष्टका अनुसार २०७७ सालमा २ हजार ६० पुरुष र १ हजार ८४६ महिला गरेर कुल ३ हजार ९०६ जनाले जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रको लागी आबेदन दिएका थिए । जसमध्ये पहिलो पटक १ हजार १८१ कार्ड स्वीकृत भएर आएको उहाँको भनाइ छ ।

तत्कालका लागि १ हजार १८१ कार्ड बनेर हामीकहाँ आइसकेको छ, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भन्नुभयो, ‘आवश्यक प्रक्रिया पूरा गरेर अरुलाई हामी क्रमशः वितरण गर्दै जान्छौं ।’

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा २०७७ साल यता २०८० असार मसान्त सम्ममा ३४ हजार ५५६ वटा राष्ट्रिय परिचय पत्रको लागी बिबरण सहितको आबेदन संकलन भएको प्राबिधिक प्रमुख बिष्टले बताउनुभयो ।

नागरिकता वितरणमा फर्जी काम बढिरहेका बेला राष्ट्रिय परिचयपत्र वितरणलाई भने वैज्ञानिक बनाइएको जनाइएको छ । नागरिकता जस्तो सिफारिस गरिएकै आधारमा राष्ट्रिय परिचयपत्र पाइने छैन । त्यसका लागि शुरुमै जैविक परीक्षण गरेर विवरण संकलन गरेको प्रशासनले वितरण पनि परीक्षण पछि मात्रै गर्ने भएको छ ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण हुनेछ । यो बहुउपयोगी हुने अधिकारीहरुको भनाइ छ । ‘राष्ट्रिय परिचयपत्र आफूसँग राखेपछि नागरिकता, मतदाता परिचयपत्र लगायतका कागजात बोकेर हिँड्नुपर्ने झन्झट हुँदैन, ‘प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार ०९:४०

प्रतिक्रिया दिनुहोस्