बिद्यार्थीमा आँखा पाक्ने प्रकोप बढेपछी कमलामाइका बिधालय बन्द

सिन्धुली – आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाइ नगरपालिका मातहतका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिने भएको छ । कमलामाइ नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहालद्वारा जारी विज्ञप्ति अनुसार साउन २२ गतेदेखि २६ गतेसम्म नगरपालिकामा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ । 

पछिल्लो केही दिन यता सिन्धुलीको आँखा अस्पताल तथा क्लिनिकहरुमा बिरामीको भीड बढेको छ । आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

सिन्धुलीको अहिले गाउँ गाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ । सबैभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ ।

संक्रमण भइसकेपछि शुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिंड्न गाह्रो हुने लगायत लक्षण देखापर्छन् । कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ ।

चिकित्सकहरूले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । यस्तै, चिकित्सकको सल्लाह अनुसार उपचार गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार ०५:२३

प्रतिक्रिया दिनुहोस्