२ सय ८ कैदिबन्दी क्षमता भएको सिन्धुली कारागारमा ८४२ जना बन्दी

सिन्धुली – जिल्ला कारागार सिन्धुलीमा दुईवटा पुरुष र एउटा महिला बन्दीका लागि ब्लक निर्माण गरिएको छ । पुरुष भवनमा ८१ जना र महिला भवनमा ४६ जना बन्दी अट्ने क्षमता छ । तर, जिल्लाका कारागारमा हाल ८ सय ४२ जना बन्दी छन् । यो कारागारको क्षमताभन्दा चारगुणा बढी हो । 

जम्मा दुई सय ८ जना बन्दी अट्ने क्षमतको कारागारमा चारगुणा बढी कैदी बन्दी राख्नुपर्दा व्यवस्थापनमा निक्कै चुनौती थपिएको कारागार प्रशासक कुशल न्यौपानेको भनाइ छ ।  ‘हामीसँग महिला ४६ जना र दुईवटा ब्लकमा गरी जम्मा १ सय ६२ जना पुरुष अट्ने क्षमता छ तर, यहाँ त्यसको चारगुणाबढी कैदी बन्दी राख्नुपर्दा सुरक्षादेखि, शौचालय, खानेपानी, औषधी उपचार, अदालत लैजान र ल्याउन समेत चुनौती थपिएको छ,’उनले भने ।

न्यौपानेका अनुसार कारागारमा ७ सय ४७ जना पुरुष, ७९ जना महिला र १६ जना बालबालिका छन् ।  कारागारको क्षमताभन्दा ३३ जना महिला र ५ सय ८५  पुरुष बढी छन् । बालबालिका भने कैदिबन्दी महिलाका आश्रीत सान्तान हुन् । कारागार भवन दुई वर्षअघि नयाँ निर्माण गरिएको हो । 

उक्त भवनमा जम्मा २ सय ८ जनाका लागि खानेपानी, शौचालय, पंखा, किचन, सुत्नका लागि राम्रो बन्दोबस्त छ । तर, क्षमताभन्दा धेरै बन्दी हुँदा अधिकांश बन्दीलाई जस्ताको टहरो बनाएर त्रिपाल बेरेर सुताउनु पर्ने अवस्था आएको न्यौपानेले बताए ।

कारागारमा सिन्धुली जिल्लाका ५० जना कैदी छन् भने धेरैजसो धनुषा र सर्लाही जिल्लाका कैदीबन्दीहरु छन् ।  उनीहरुमध्ये अधिकांश लागुऔषध, कर्तव्य ज्यान र बहुविवाहका मुद्दामा कैद भुक्तान गरिरहेका छन् ।

‘धनुषा जिल्लामा कारागार नै छैन । सर्लाहीको कारागार सञ्चालनमा आएको छैन । ती दुबै जिल्लाका बन्दीहरूलाई सिन्धुलीमै पठाउँदा क्षमताभन्दा धेरै संख्या भएको हो,’उनले भने । 

कैदी बन्दी धेरै हुँदा रातको समयमा सुत्नलाई समेत केही समस्या हुने गरेको छ । उता कारागारमा सवारी साधन नहुँदा थप समस्या हुने गरेको छ । एउटा सिंगल क्याप बोलेरो भएपनि पुरानो हुँदा मर्मत गर्न समस्या हुने गरेको छ । वर्षमा जम्मा ३० हजारको तेल हाल्ने पैसा आउँछ । 

तर, जिल्ला अदालत सिन्धुलीदेखि धनुषा र सर्लाहीसम्म कैदीहरूलाई बेलाबेलामा उपस्थित गराउनुपर्ने बाध्यता र कतिपय कैदीलाई स्थानान्तरण गर्दा र बिरामी हुँदा अस्पतालसम्म लैजान सवारी भाडामा लिएर चलाउनु पर्दा थप समस्या हुने गरेको बताइएको छ । 

कारागारलाई आवश्यक गाडी,चालक र मर्मत तथा तेलको खर्च सरकारले व्यवस्थापन गर्दिए केही सहजता हुने न्यौपानेको भनाइ छ । खानेपानीका लागि ग्वाङ खोलामा इनार खनेर मोटर मार्फत् पानीको जोहो गरिए पनि बिजुली बत्ती नहुँदा समस्या हुने गरेको छ । कैदी बन्दी थपिदा आवश्यक अनुसार शौचालय समेत कमी छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार ०८:३०

प्रतिक्रिया दिनुहोस्