कांग्रेस सुदृढीकरण अभियान: सिन्धुलीमा चरणबद्ध कार्यक्रमको तय

सिन्धुली — नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान देशैभर सुरु भएको छ । अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । शनिबारदेखि सुरु भएको अभियान १० दिनसम्म चल्नेछ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । 

सिन्धुलीका लागी प्रतिनिधीको रुपमा खटिएर आउनुभएका नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य तथा पुर्व शिक्षा मन्त्री मानबहादुर बिस्वकर्माले सोमबार नेपाली कांग्रेस सिन्धुलीले अभियानको क्रममा गर्ने कामकारबाही बारे र समसामयिक विषयबस्तु बारे कार्यसमिती संग छलफल गर्नुभएको छ ।

उहाँले उक्त छलफलमा धारणा राख्दै ‘यो हाम्रो पार्टीको संगठन सुदृढीकरणको अभियानमात्रै होइन, पोलिटिकल अडिट पनि हो,’ उहाँले भन्नुभयो । अभियानको प्रारम्भको सन्दर्भमा जिल्लाको बिभिन्न क्षेत्रीय कार्यसमितिहरुले बैठक, भेला र छलफलका कार्यक्रमहरु आयोजना गर्ने जनाइएको छ ।

‘कांग्रेसको संगठनलाई मजबुत बनाउन हामीले केन्द्रीय कार्यसमितिबाट एक वर्षे कार्ययोजना पारित गरेका छौं, उहाँले भन्नुभयो त्यहीअनुसार यो दश दिने संगठन सुदृढीकरण अभियान सुरु भएको छ, ‘यो अभियानमा कांग्रेसको सांगठनिक जीवन कसरी चलिरहेको छ ? भनेर जानकारी लिने र कमजोरीहरु औंल्याउने काम हुन्छ । यसकारण पनि यो हाम्रो पोलिटिकल अडिट हो ।’

अभियानको क्रममा सिन्धुली कांग्रेसले चरणबद्ध कार्यक्रमको आयोजना गरेको छ । सोही अनुरुप श्रावण २३ गते अर्थात मंगलबार बिहान सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ (ख) ले बिहान केन्द्रिय प्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम राखेको छ भने बिहान ११ बजे निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समितीको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै अभियानकै सन्दर्भमा श्रावण २४ गते सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेश समितीले छलफल कार्यक्रम राखेको छ भने दिउँसो क्षेत्र नम्बर १ को क्षेत्रीय समितीको आयोजनामा केन्द्रीय प्रतिनिधीको उपस्थितीमा जिल्लाको दुधौलीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

हाल निर्धारण गरिएको कार्यक्रममा २५ गते निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) को आयोजनामा खुर्कोटमा समसामयिक बिषयमा छलफल कार्यक्रम राखिएको सिन्धुली
कांग्रेसका सचिव इस्वर कुमार बस्नेतले जानकारी दिनुभयो ।

बाकी कार्यतालिका अभियानकै क्रममा तय गरिने र यो अभियानलाई उत्कृष्ट बनाउने कार्यमा आफुहरु लागेको सिन्धुली कांग्रेसका सभापती उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

सभापती पोख्रेलले जिल्लामा खटिएका प्रतिनिधिले जिल्लाको अवस्था के छ ? पार्टी संगठन कसरी चलेको छ ? स्थानीय सरकारहरु कसरी चलेका छन् ? विधानबमोजिम गर्नुपर्ने कामहरु भए/नभएको के-कस्तो अवस्था छ ? यी विषयमा प्रतिवेदन तयार गरेर केन्द्रमा बुझाउनुहुन्छ, यी सबै कुरामा रहेका कमजोर पक्षहरु सबल बनाउन पहल गर्नुहुने छ उहाको भनाइ छ ।

अभियानका क्रममा नेताहरुले पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १३:४३

प्रतिक्रिया दिनुहोस्